इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई पराजित गरेको छ। आइतबारको खेलमा युनाइटेडले ३–२ ले आर्सनललाई हराएको हो।
प्रशिक्षक फेरिएसँगै युनाइटेडले यो सनसनीपूर्ण जित हात पारेको हो। जितका लागि युनाइटेडका ब्रायन म्युबो, प्याट्रिक डोर्गु र म्याथुज कुन्हाले उत्कृष्ट गोल गरेका थिए।
हाल टिमको अन्तरिम प्रशिक्षकमा माइकल क्यारिक छन्। उनले टिमको नेतृत्व सम्हालेपछि गत साता अर्काे बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई युनाइटेडले हराएको थियो।
यो जितसँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ। उता आर्सनललाई उपाधि दौडमा धक्का लागेको छ। यो हारपछि लिगको दोस्रो स्थानमा रहेको सिटीसँग उसको दूरी चार अंकले साँघुरिएको छ।