नेपाल घुम्न आउने पर्यटकलाई उद्धारको नाममा भएको ठगीमा संलग्न ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। रेस्क्यु कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी सिआइबीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु नेपालका सञ्चालक जयराम रिमाल र व्यवस्थापन विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया र एभरेष्ष्ट एक्सिपिरियन्सका सञ्चालक मुक्ति पाण्डे र सञ्चालक तथा प्रबन्धक सुभाष केसीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
७ वर्षअघि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सिआइबीले थप साढे दुई महिना अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उपर ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढेको छ। नेपालको छविसमेत अन्तर्राष्ट्रियस्तरमा धुमिल पारेकाले राष्ट्रहितविरुद्धको अपराधमा पनि अनुसन्धान गरिने सिआइबीका एआइजी मनोज केसीले बताए।
अनुसन्धानको क्रममा माउन्टेन रेस्क्यु सर्भिसले १७१ जनाको शंकास्पद उद्धार गरेको सिआइबीका डिएसपी दानबहादुर थापाले बताए। त्यस्तै, नेपाल चार्टर सर्भिसले ७५ जना र एभरेष्ष्ट एक्सिपिरियन्स एण्ड एसिसटेन्सले ७१ जनाको शंकास्पद उद्धार गरेको सिआइबीको निष्कर्ष छ।
यस ठगीमा संलग्न हेलिकोप्टर कम्पनी तथा अस्पतालमाथि पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।