रास्वपाको समानुपातिक सूचीमा परेका ज्ञानेन्द्र मल्ल भन्छन्– मैदान फेरिएको छ, तर लक्ष्य उही छ

आइतबार, १२ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले मैदान फेरिएको, तर आफ्नो लक्ष्य नेपालको गौरव नै रहेको बताएका छन्। खेलाडीलाई विश्वास गरी समानुपातिक सूचीमा राखेकोमा धन्यवाद दिँदै उनले यो खेल जगतकै लागि सम्मान भएको उल्लेख गरे। 

उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्–
सबैभन्दा पहिले, म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति हार्दिक आभार प्रकट गर्दछु। मजस्तै खेल क्षेत्रमा लागेको व्यक्तिलाई विश्वास गरेर आगामी निर्वाचनका लागि समानुपातिक प्रतिनिधिको रूपमा मनोनीत गर्नु, खेलाडीलाई विश्वास गरी अवसर दिने यो साहस बिरलै देखिन्छ। यो विश्वास मेरो लागि मात्र नभई सम्पूर्ण खेल जगतकै लागि एउटा ठुलो सम्मान हो।

यस नयाँ जिम्मेवारीसँगै, मैले नेपाल क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट नैतिकताको आधारमा बिदा लिएको जानकारी सबैमा स्पष्ट भइसकेको छ। खेल मेरो जीवनको अभिन्न हिस्सा हो, तर अहिले देशलाई अर्को रूपमा सेवा गर्ने समय आएको छ।

विश्वकप खेल्न जाँदै गरेको नेपाली क्रिकेट टोलीलाई हार्दिक शुभकामना– फेरि एकपटक तपाईंहरूले हामी सबैलाई गाैरवान्वित बनाउनुहुनेछ भन्ने पूर्ण विश्वास छ।

यो परिवर्तन पदको चाहनाबाट होइन, भविष्यप्रतिको उत्तरदायित्वबाट सुरु भएको हो। हाम्रा युवाहरूको सपना, परिश्रम र सम्भावनालाई सही दिशा दिन हामी सबैको साथ अनिवार्य छ।

यो यात्रा मेरो व्यक्तिगत पदका लागि होइन; हाम्रा आगामी पुस्ताका लागि हो, ती युवाहरूका लागि हो जसले एउटा सुन्दर र समृद्ध नेपालको सपना देखेका छन्। परिवर्तनका लागि हाम्रा युवाहरूले गरेका त्याग र बलिदानलाई सार्थक बनाउनु हामी सबैको साझा जिम्मेवारी हो। आउनुहोस्, हामी एकजुट बनौँ । हिजोजस्तै आज पनि मलाई विश्वास र साथ दिनुहोस्।

यो देश हाम्रो हो। यसको भविष्य पनि हाम्रो जिम्मेवारी हो। हामी फरक पृष्ठभूमिबाट आएका हुन सक्छौँ, तर सपना एउटै हो– सम्मानित, सक्षम र आत्मनिर्भर नेपाल। यो मेरो एक्लो यात्रा होइन, यो हामी सबैको साझा संकल्प हो। मलाई विश्वास छ, हिजो जस्तै आज पनि मलाई तपाईंहरूको साथ र सुझाव मिल्नेछ।
 

सुझावित समाचार