प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका विभिन्न न्यायालय आगलागी भएर जले पनि नागरिकलाई दिने न्याय नजलेको बताएका छन्।
उच्च अदालत पोखरा बागलुङ इजलासको सुविधासम्पन्न भवनको उद्घाटनपछि बोल्दै राउतले देशका सबै न्यायालयहरू खरानी टकटक्याएर उठेको बताए। उनले सर्वोच्च अदालतमा जलेका २० हजार मिसिलमध्ये १४ हजारभन्दा बढी तयार भइसकेको जानकारी दिए।
न्यायालयप्रति नागरिकको विश्वास बढाउने काम सेवा प्रवाहबाट मात्रै गर्न सकिने उनको भनाइ छ। भवन मात्र सुविधासम्पन्न भएर नहुने भन्दै उनले सेवा प्रवाहमा सन्तुष्टि दिनुपर्नेमा जोड दिए।
‘निर्मम समीक्षा गरेर सेवा प्रवाहमा गुणस्तर बढाउनुपर्ने देखिएको छ, हामीप्रतिको आवेग पनि निस्किएको हो, तर राज्यका तीनवटै अंग जलाउने काम सुनियोजित हो, अदालत उठेको छ,’ प्रधानन्यायाधीश राउतले भने।