पूर्व–पश्चिम लोकमार्गको लहान नगरपालिका– १२, मत्स्य फार्मनजिक शुक्रबार दिउँसो करिब साढे २ बजेतिर दुई मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय लहानका अनुसार मत्स्य फार्मनजिक पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका दुई मोटरसाइकल स्थानीय ब्रदर्स पेट्रोलपम्पनजिक ठोक्किँदा दुईजना घाइते भएका हुन्। घाइते हुनेहरूमा सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका– ४, धञ्छवारका करिब १८ वर्षीय ऋतिक यादव र लक्ष्मीपुरपतारी– १, रामपुर पिप्राका करिब २० वर्षीय विक्रम मण्डल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मध्यम अवस्थाका दुवै घाइतेको लहानस्थित माँ धमिनी हस्पिटलमा उपचार भइरहेको र अवस्था खतरामुक्त छ।
धञ्छवारबाट भाइसहित लहानतर्फ आउँदै गरेका ऋतिक चढेको स.७प ८३७० नम्बरको मोटरसाइकलले मण्डल चढेको धनगढीबाट लहानतर्फ आउँदै गरेको प्रदेश २–००१–००३ प ०५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मण्डलको मोटरसाइकल दायाँपट्टि रहेको पेट्रोलपम्पतिर मोडिन खोज्दा ऋतिकको मोटरसाइकलले ठक्कर दिएको बताइएको छ।
ऋतिकसँग मोटरसाइकलमा बसेका उनका भाइलाई भने सामान्य चोट लागेको प्रहरीले बताएको छ।