बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन रास्वपा उपसभापति वाग्लेको आग्रह

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।

वाग्लेले जारी गरेको विशेष आग्रहमा पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तनका संघर्षमार्फत हासिल गरेका राजनीतिक तथा सामाजिक उपलब्धिहरूको संरक्षण आवश्यक भए पनि २१औँ शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल तथा अभियानहरूबाट मात्र सम्भव हुने निष्कर्षका साथ डा. भट्टराईले ‘नयाँ शक्ति’को कल्पना गरेको उल्लेख गरिएको छ।

उक्त वैकल्पिक राजनीतिक चेतनाको निरन्तरतामै आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव भएको भन्दै वाग्लेले डा. भट्टराईले पूर्वप्रधानमन्त्रीका रूपमा रास्वपालाई मार्गनिर्देशन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार फागुन २१ पछि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक–प्रशासनिक, सुशासन तथा विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा डा. भट्टराईको अनुभव महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।

त्यसै सन्दर्भमा वाग्लेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राज्य सञ्चालनसम्बन्धी विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सहयोग गर्न आग्रह गरेका छन्। यसो गरेमा त्यसले अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्ने उनको भनाइ छ।

सुझावित समाचार