सम्पदाप्रेमीको पहलपछि प्रहरी कार्यालयमा रहेका मूर्तिकला फिर्ता गरिँदै

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

विभिन्न प्रहरी कार्यालयमा रहेका ऐतिहासिक मूर्तिकला फिर्ता गरिने भएको छ । सम्पदाप्रेमीले पुरातत्व विभाग र गृहमन्त्रीको ध्यानाकर्षण गराएपछि महेन्द्र पुलिस क्लब, गौशाला प्रहरी वृत्त, धुलिखेल प्रहरी चौकीलगायतमा रहेका ऐतिहासिक मूर्तिकला संरक्षण गर्न लागिएको हो ।ती मूर्तिकला छाउनीस्थित राष्ट्रिय संग्रहालय तथा जुन मूर्तिकला जहाँको थियो त्यहीँ लगेर राखिनेछ ।

आइतबार पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग र सम्पदाप्रेमी यादवलाल कायस्थले त्यसलाई उचित संरक्षण गर्नुपर्ने माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका थिए । गृहमन्त्री अर्यालले ऐतिहासिक मूर्ति तथा कलात्मक वस्तुहरूको उचित संरक्षण गर्नुपर्ने भन्दै बुधबार प्रहरीका अधिकारीहरू, पुरातत्व विभाग, महानगरपालिकालगायतसँग छलफल गरी प्रहरी कार्यालयमा रहेका मूर्तिकला पुरानै ठाउँमा फिर्ता गर्ने निर्णय गरेका थिए । 

हाल महेन्द्र पुलिस क्लबमा २५ वटा प्रस्तरको र एउटा धातुका मूर्ति छन् । बनेपा र धुलिखेल प्रहरी कार्यालयमा गरी सातवटा मूर्ति छन् । गौशाला प्रहरी चौकीमा दुईवटा मूर्ति छन् । ती मूर्तिहरू संरक्षण गर्नुपर्ने भन्दै सम्पदाप्रेमीले आवाज उठाउँदै आएका छन् । ‘अन्य प्रहरी चौकीबाट दुई सयवटाजति मूर्तिहरू भेटाएर मेरै पहलमा पुरातत्वलाई जिम्मा लगाइएको छ, अझै पनि केही मूर्तिहरू फिर्ता गर्न बाँकी छ,’ कायस्थले भने, ‘ऐतिहासिक मूर्तिकला जहाँ पायो त्यहीँ राख्न मिल्दैन, त्यसको आफ्नै ऐतिहासिक महत्व छ ।’ 

प्रहरी कार्यालयमा ऐतिहासिक मूर्तिहरू अलपत्र परेको देखेपछि कायस्थले पाँच महिनाअघि नै पुरातत्व विभागलाई जानकारी गराएका थिए । उनले ती मूर्तिहरू संरक्षण गर्नुपर्ने भन्दै लिखित रूपमा पत्रसमेत बुझाएका थिए । ‘प्रहरी कार्यालयमा कुनै कालखण्डमा ऐतिहासिक मूर्तिहरू पुगेका रहेछन्, त्यसलाई फिर्ता गर्न भनेर पहल गरिरहेको छु, ऐतिहासिक मूर्तिहरूको महत्व सबैले बुझ्नुपर्छ,’ सम्पदाप्रेमी कायस्थले भने, ‘गृहमन्त्रीज्यूले प्रहरी अधिकारीहरूलाई फोन गरेर ऐतिहासिक मूर्तिकलाहरू फिर्ता गर्न भन्नुभएको छ, जुन मूर्ति वा कला जहाँ राख्नुपर्ने हो त्यहीँ हुनुपर्छ, बल्ल त्यसको संरक्षण भएको मानिन्छ ।’ 

पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले पनि ऐतिहासिक मूर्तिकला संरक्षणका लागि बुधबार भएको बैठकमा फिर्ता गर्ने गरी निर्णय भएको बताइन् । ‘ऐतिहासिक मूर्तिकला जहाँ थिए त्यहीँ फिर्ता गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘सम्पदाप्रेमीहरूले त्यस्ता मूर्तिकलाको पहिचान गरेर हामीलाई जानकारी गराउनुभएको थियो, त्यसपछि बैठक बसेर मूर्ति फिर्ता गर्ने निर्णय भएको हो ।’ 

सुझावित समाचार