नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंकाको ‘ए’ टोलीसँगको दोस्रो अभ्यास टी–२० खेलमा ७३ रनको हार सामना गरेको छ । श्रीलंकाको कोलम्बोमा बिहीबार पहिलो ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा नौ विकेट गुमाएर २२३ रनको विशाल योगफल बनाएको थियो । प्रत्युत्तरमा २२३ रन पछ्याएको नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा १४९ रन मात्र बनाउन सक्यो । नेपाल र श्रीलंका ‘ए’बिच तेस्रो खेल शनिबार हुनेछ ।
नेपालका लागि करण केसीले सर्वाधिक अविजित ४१ रन बनाए । लोकेश बमले २५ तथा कप्तान रोहित पौडेलले १८ रन जोडे । गुल्सन झाले १७ र सोमपाल कामीले १६ रन बनाए । श्रीलंका ‘ए’का लागि नुवान थुसाराले तीन विकेट हात पारे । चमिका करुणारत्ने र दुसान हेमन्थाले समान दुई विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको श्रीलंका ‘ए’का लागि लाहिरू उडाराले सर्वाधिक ९३ रन जोडे । लासिथ क्रसपुलले ५३ र सहान अराकिगेले ५५ रनको योगदान दिए ।
बलिङमा नेपालका लागि कुशल भुर्तेलले चार ओभरमा १३ रन दिएर दुई विकेट लिए । नन्दन यादवले चार ओभरमा ७२ रन खर्चेर दुई विकेट र करणले एक विकेट लिए । आइसिसी टी–२० विश्वकपको अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली पहिलो खेलमा पनि पराजित भएको थियो । अभ्यास खेलपछि नेपाली टोली भारत जानेछ । भारतमा मुम्बईको एमसिए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी–२० खेल हुने तालिका छ । भारत र श्रीलंकाले संयुक्त रूपमा टी–२० विश्वकप ७ फेब्रुअरीदेखि आयोजना गर्दै छन् । नेपालले ८ फेब्रुअरीमा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।