प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गरेका ६ उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार भक्तपुर २ मा रास्वपा उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी परेको हो ।
यसैगरी, सुनसरी २ बाट रास्वपाका उम्मेदवार लालविक्रम थापा, रौतहट १ बाट नेकपाका उम्मेदवार माधव नेपाल र कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । यस्तै, काठमाडौं ४ मा राप्रपाबाट उम्मेदवार सुरेन्द्र भण्डारीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित घृणित अभिव्यक्ति दिएको भन्दै परेको उजुरीमा आयोगले तीन दिनभित्र स्पष्ट जवाफ दिन निर्देशन दिएको छ ।
आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले उम्मेवारविरुद्ध दाबी विरोधमा परेका उजुरीको छानबिन निर्वाचन अधिकृतको कार्यालयले नै गर्ने बताए । ‘उनीहरूले छानबिन गर्छन् । ठहरेमा उम्मेदवारी खारेज हुन्छ । नठहरेमा कायम हुन्छ । प्रमाण कागजातबाट अयोग्य देखियो भने निर्वाचन अधिकृतले मनोनयनपत्र खारेज गरिदिन्छ,’ उनले भने ।
निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्पष्टीकरण सोधेको छ । झापा ५ मा एमाले अध्यक्ष केपी ओलीको उम्मेदवारी मनोनयन दर्तामा सहभागी भएपछि आयोगले मुख्यमन्त्री कार्कीसँग स्पष्टीकरण मागेको हो । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत रहेको औँल्याउँदै आयोगले तीन दिनभित्र जवाफ पेस गर्न भनेको छ ।
‘प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क)को उल्लंघन हुने देखिएकाले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारमा लेखिएजस्तो मनोनयन कार्यक्रममा तपाईं सहभागी हुनुभएको हो वा होइन ? यस पत्र प्राप्त भएको तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्णयानुसार अनुरोध छ,’ आयोगले भनेको छ ।