समाचार प्रभाव : विपन्न मुसहर बस्तीमा कम्बल वितरण

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

गत पुसको दोस्रो सातादेखि शीतलहरसँगै बढेको जाडोले गरिब, विपन्न परिवारको दैनिकी कष्टकर बनेको समाचार प्रभावका कारण सिराहाको दुई स्थानीय तहका विपन्न मुसहर परिवारका बृद्धबृद्धा, असहाय, अपांगता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरिएको छ।

गत १५ पुसमा नयाँ पत्रिकामा ‘शीतलहरले विपन्नको दैनिकी कष्टकर, दिउँसो घुर र राति परालको भर’ शीर्षकमा समाचार प्रकाशित भएपछि विशाल ग्रुप फाउन्डेसनले बुधबार सखुवानन्कारकट्टी गाउँपालिका– २ पटना गाउँका ४५ र लक्ष्मीपुरपतारी गाउँपालिका– ४ धञ्छवार गाउँका २५ गरी कुल ७० जना मुसहर समुदायका बृद्धबृद्धा, असहाय, अपांगता भएका व्यक्तिहरूलाई जनही एक–एक थान कम्बल वितरण गरेको हो। जाडोका कारणले हुने जोखिममा रहेका विपन्न समुदायलाई तिनको आधारभूत आवश्यकतामध्ये कम्बल वितरण गरिएको फाउन्डेसनले जनाएको छ।

धञ्छवार गाउँकी करिब ५३ वर्षीया दृष्टिविहीन तेतरीदेवी सदायले हर्षित हुँदै माघको जाडोमा न्यानो कम्बलले कम्तीमा राति न्यानो भएर सुत्न पाइने सुनाइन्। ‘दिउँसो घाम त लाग्छ, तर रातिको सिरेटोले साह्रै समस्या थियो,’ उनले भनिन्, ‘न्यानो कम्बलले ज्यान जोगिने भयो।’

लहानस्थित एनआइसी एसिया बैंकका शाखा प्रबन्धक लेखराज पौडेल, सुनील यादव, अरुण दाहाल र पत्रकारहरूको उपस्थितिमा पटना गाउँमा दुवै ठाउँका विपन्न समुदायलाई बुधबार अपराह्न कम्बल वितरण गरिएको फाउन्डेसनले जनाएको छ। कम्बल वितरणका लागि स्थानीयसमेत रहेका शिक्षक रामसुफल यादवले सहजीकरण गरेका थिए।
 

सुझावित समाचार