उम्मेदवार बन्दै उद्योगी–व्यवसायी पनि उत्रिए चुनावमा

बुधबार, ७ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने प्रत्यक्ष निर्वाचनमा उद्योग तथा व्यवसाय पृष्ठभूमि भएका उम्मेदवारको संख्या उच्च देखिएको छ । फोब्र्सको सूचीमा सूचीकृत एक मात्रै नेपाली अर्बपति विनोद चौधरीदेखि मझौला तथा साना उद्योगी–व्यापारीले विभिन्न दलबाट मंगलबार मनोनयन दर्ता गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगी–व्यापारीको आकर्षणलाई सकारात्मक रूपमा लिएको बताए । ‘प्रतिनिधिसभामा सबै वर्ग र तप्काका प्रतिनिधिको प्रतिनिधित्व हुनु राम्रो हो । त्यो अवस्थामा उद्योगी तथा व्यापारी साथीहरूको प्रयास सकारात्मक छ,’ उनले भने, ‘तर, स्वार्थ बाझिने कुरामा जोखिम हुन सक्छ । त्यस्तो काम गर्दैनौँ भनेर निश्चित गर्नुपर्छ ।’

चौधरी समूहका अध्यक्ष विनोद चौधरीले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी– १ मा उम्मेदवारी दिएका छन् । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका उनी ०७९ को चुनावमा त्यहीँबाट विजयी भएका थिए । निर्माण व्यवसायी मोहन आचार्यले रसुवामा मनोनयन दर्ता गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका उनी पनि ०७९ को चुनावमा रसुवाबाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा पनि विजयी भएका ऊर्जा तथा मेडिकल व्यवसायी डा. सुनीलकुमार शर्माले पनि मोरङ– ३ मा उम्मेदवारी दिएका छन् । यस्तै, यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्माले रुपन्देही– २ मा मनोनयन दर्ता गरेका छन् । व्यवसायी अनिलकुमार रुंगटाले पर्सा– १ मा उम्मेदवारी दर्ता गरेका छन् । अलैँची व्यवसायी राजेन्द्र घिमिरेले झापा– ३ मा मनोनयन दर्ता गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले पनि कैलाली– २ मा उम्मेदवारी दिएका छन् । कांग्रेसका सहमहामन्त्री रहेका निर्माण व्यवसायी कर्णबहादुर बुढाले डोल्पामा मनोनयन दर्ता गरेका हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष रमेशप्रसाद धमलाले पनि धादिङ– २ मा उम्मेदवारी दिएका हुन् । पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजालले धादिङ– १ मा मनोनयन दर्ता गरेका हुन् । 

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्ष भरतराज ढकालले स्याङ्जा– १ बाट उम्मेदवारी दिएका छन् । घरजग्गा व्यवसायी प्रेमकुमार खत्रीले गोरखा– १ मा मनोनयन दर्ता गरेका हुन् । कुरियर तथा कार्गाे व्यवसायी प्रकाशसिंह कार्की सोलुखुम्बुमा मैदानमा उत्रिएका छन् । पर्यटन व्यवसायी योगेश गौचनले मुस्ताङमा मनोनयन दर्ता गरेका हुन् ।

०७९ मा पनि उनी विजयी भएका थिए । वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाटले कास्की– १ मा मनोनयन दर्ता गरेका छन् । भन्सार एजेन्ट तथा व्यवसायी केशव पाण्डेले झापा– १ मा मनोनयन दर्ता गरेका छन् । व्यवसायी भुवन श्रेष्ठले गुल्मी– २ मा मनोनयन दर्ता गरेका छन् । 

लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया पनि चुनावी मैदानमा छन् । उनले एमालेबाट कपिलवस्तु– ३ मा उम्मेदवारी दिएका हुन् । उद्योगपति दिलीप अग्रवालले मोरङ– २ मा उम्मेदवारी दिएका छुन् । व्यवसायी मनोज अग्रवालले मोरङ– ५ मा मनोनयन दिएका हुन् । व्यवसायी उमाशंकर अरगरियाले धनुषा– २ मा मनोनयन दर्ता गरेका छन् । मनाङबाट उम्मेदवार बनेका पोल्देन छोपाङ गुरुङ पनि होटेल तथा पर्यटन व्यवसायी हुन् । मनाङ वाइनका मालिकसमेत रहेका गुरुङको मनाङमा स्याउ फार्म र रिसोर्ट छ । स्याङ्जा– १ मा पूर्वबैंकर मीनप्रसाद गुरुङले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनी पनि मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष हुन् । पर्यटन व्यवसायी खिम थापा स्याङ्जा– २ बाट उम्मेदवार भएका छन् । दुग्ध व्यवसायी रामचन्द्र उप्रेतीले झापा– १ मा मनोनयन दर्ता गरेका हुन् । वैदेशिक रोजगार व्यवसायी लालप्रसाद साँवा लिम्बूले झापा– ४ मा उम्मेदवारी दिएका हुन् । व्यवसायी कृष्णकुमार श्रेष्ठले बारा– ४ मा उम्मेदवारी दर्ता गरेका छन् । उद्योगी भगीरथ सापकोटाले पनि नवलपुर– १ मा मनोनयन दर्ता गरेका छन् । 

भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जितले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तपुर– १ मा मनोनयन दर्ता गरेका छन् । पर्यटन व्यवसायी तथा पर्यटन बोर्डका पूर्वसिइओ धनञ्जय रेग्मी स्याङ्जा– १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ऊर्जा व्यवसायी भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोक– १ मा उम्मदेवारी दिएका हुन् ।

व्यवसायी डा. वीरेन्द्रप्रसाद महतोले पनि प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । उनले जनमत पार्टीबाट सिराहा– ४ मा उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि ०७९ को निर्वाचनमा डा. महतो जसपाबाट त्यही क्षेत्रमा विजयी भएका थिए । 

६ पूर्वअर्थमन्त्री मैदानमा
प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि ६ जना पूर्वअर्थमन्त्रीले उम्मेदवारी दिएका छन् । फरक निर्वाचन क्षेत्रमा चार दलबाट ६ जना पूर्वअर्थमन्त्री चुनावी मैदानमा होमिएका हुन् । कांग्रेसबाट पूर्वअर्थमन्त्रीद्वय डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा उत्रिएका छन् । डा. महतले नुवाकोट नम्बर १ बाट उम्मेदवारी दिएका छन् भने कार्कीले सुनसरी– ४ बाट उम्मेदवारी दिएका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पनि दुईजना पूर्वअर्थमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई र पूर्वअर्थमन्त्री जनार्दन शर्माले क्रमश: गोरखा क्षेत्र नम्बर २ र रुकुम पश्चिमबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै, एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही– २ बाट उम्मेदवारी दिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट चुनाव लड्ने भएका हुन् । 

सुझावित समाचार