बंगलादेश, नेदरल्यान्ड्स र थाइल्यान्ड आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटमा अपराजित रहेका छन् । समूह ‘ए’ बंगलादेशले लगातार दुई खेल जितेको छ । समूह ‘बी’मा नेदरल्यान्ड्स र थाइल्यान्डले समान दुई खेल जितेका छन् । तीनवटै राष्ट्रले समान चार अंक जोडेका छन् । समूह ‘ए’मा बंगलादेश शीर्ष स्थानमा छ । समूह ‘बी’मा नेदरल्यान्ड्स रनरेटको आधारमा शीर्ष स्थान र थाइल्यान्ड दोस्रो स्थानमा रहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बंगलादेशले मंगलबार पपुवा न्युगिनीलाई ३० रनले हराएको थियो । पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६८ रन जोडेको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनीले २० ओभरमा नौ विकेटको नोक्सानीमा एक सय ३८ रन मात्र जोड्यो । बंगलादेशको जितमा सोर्ना अक्टेरले बलिङमा ६ रन खर्चेर एक विकेट तथा ब्याटिङमा १४ बलमा ३७ रनको योगदान दिएकी थिइन् ।
बंगलादेशको ब्याटिङमा ओपनर दिलारा अक्टेरले २९ बलमा ३५ रनको योगदान दिइन् । बंगलादेशले पहिलो विकेटका लागि ४९ रन जोडेको थियो । मध्यक्रमकी सर्मिनले ३४ बलमा २८ रन बनाइन् । पपुवा न्युगिनीको ब्याटिङमा वेन्दाले ३२ बलमा ३५ रनको सर्वाधिक योगदान दिइन् । ओपनर होलानले १३ बलमा समान दुई चौका र छक्का प्रहार गरी २१ रन बनाइन् ।
नेदरल्यान्ड्स सात रनले विजयी
मूलपानी मैदानमा नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा स्कट्ल्यान्डलाई सात रनले निराश बनाएको छ । पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेट गुमाएर १५७ रन बनाएको थियो । प्रत्युत्तरमा स्कटल्यान्डले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५० रन जोड्यो । नेदरल्यान्ड्सको जितमा स्टेरेर कालिसले सर्वाधिक ८७ रनको योगदान दिइन् । उनले ६० बलमा १४ चौका र एक छक्का प्रहार गरेकी थिइन् ।
स्कटल्यान्डको ब्याटिङमा मध्यक्रमको बलियो साथ पाए पनि जित हात पार्न सकेन । काथेरिन फासेरले २९ बलमा ४१ रन तथा काथर्न ब्रासले ४० बलमा ४२ रन बनाए । यसैगरी, साराहले २५ बलमा ३० रन जोडिन् । नेदरल्यान्ड्सकी कालोलिनले २७ रन खर्चेर दुई विकेट लिइन् ।
थाइल्यान्डको रोमाञ्चक जित
मूलपानी मैदानमा समूह ‘बी’अन्तर्गत भएको खेलमा थाइल्यान्डले टेस्ट राष्ट्र जिम्बाबेमाथि एक रनको रोमाञ्चक जित निकालेको छ । पहिलो ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रनको न्यून योगफल खडा गरेको थियो । जिम्बाबेले सहज लक्ष्य पार गर्न सकेन । जिम्बाबेले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय १४ रन जोड्दा एक रनको हार सामना गर्यो । थाइल्यान्डको ब्याटिङमा नानापले ५२ बलमा ६ चौकाको सहयोगमा ५४ रन बनाइन् । जिम्बाबेका लागि मोडेस्टरले ४९ बलमा ३६ रन जोड्नि ।