बंगलादेशको समर्थन गर्दै पाकिस्तान

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण
  • बंगलादेशको माग पूरा नभए आफूहरू आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेटमा सहभागी नहुने पाकिस्तानको चेतावनी

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बंगलादेशको माग पूरा नभए आफूहरू आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता नहुने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सहभागी राष्ट्र बंगलादेशको भावना तथा सुरक्षा दृष्टिकोण माग उचित भएको पिसिबीले जनाएको छ । आइसिसीले बंगलादेशको माग सम्बोधन नगर्दा आफूहरू विश्वकप बहिष्कार गर्न बाध्य हुने पिसिबीले गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । 

‘दुई पक्षबिचको विवादमा तेस्रो पक्ष बोल्नु उचित होइन, तर सबैलाई सम्मानजनक व्यवहार हुनुपर्छ भन्ने पिसिबीको भनाइ छ,’ पिसिबीका पदाधिकारीलाई उद्धृत गर्दै टाइम्स इन्डियाले लेखेको छ, ‘भारतले पनि कयौँपटक यस्तै परिस्थितिमा अन्य भूमिमा हामीसँग खेलेको उदाहरण छ । यसपटक बंगलादेशको माग पूरा नुहुन हामीले बुझेनौँ ।’ 

पिसिबीले बंगलादेशको समर्थन गरेपछि भारत तथा आइसिसीमाथि दबाब बढेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । इस्लामाबादमा मंगलबार पिसिबीको कार्यसमितिको बैठकमा बंगलादेशको समर्थन गर्ने निर्णय भएको थियो । ‘इस्लामाबादमा बंगलादेशलाई सथर्मन गर्दै उनीहरूको माग पूरा गर्न पाकिस्तान अगाडि बढेको छ,’ भारतीय मिडिया एनडिटिभीले भनेको छ, ‘यस किसिमको निर्णयले विश्वकप संकटमा पर्न सक्छ ।’ 

भारतले एसिया कप तथा आइसिसी च्याम्पियन्स ट्रफीमा देखाएको व्यवहार बदला लिन पाकिस्तानले तयारी गरेको एनडिटिभीको दाबी छ । ‘पाकिस्तानले पछिल्लो घटनाको बदला लिने योजना बनाएको देखिन्छ । उनीहरूले विश्वकप बहिष्कार गर्दा त्यसको सन्देश विश्व क्रिकेटमा राम्रो जानेछैन ।’ सन् २०२४ मा पाकिस्तानले आयोजना गरेको एसिया कपमा भारतले तटस्थ भूमि रोजेको थियो । त्यसपछि आइसिसी च्याम्पियन्स ट्रफीसमेत पाकिस्तानी मैदानमा नखेल्ने अडान भारतले राखेको थियो । 

भारतले एसिया कपअन्तर्गत पाकिस्तानसँगको खेल श्रीलंका तथा आइसिसी च्याम्पियन्स ट्रफीमा आफ्ना सबै खेल दुबईमा गएर खेलेको थियो । 

आइसिसी र एसिसीले ‘हाइब्रिड’ शैली अपनाएको थियो । बंगलादेशले पनि यसै हाइब्रिड शैली अपनाउन लागेको हो । तर, आइसिसीले टी–२० विश्वकपको पूर्वघोषित खेल तथा समूह कुनै परिवर्तन नहुने प्रस्ट पारेको छ । आइसिसीले भारत र बंगलादेशबिचको विवाद सुल्झाउन ढाकामा दुई प्रतिनिधिसमेत पठाएको थियो । ढाकाको बैठक निष्कर्षविहीन हुँदा आइसिसीले बंगलादेशलाई बुधबारसम्म अन्तिम निर्णय गर्न निर्देशन दिएको छ । 

पाकिस्तानको पनि मैदान परिवर्तन हुनुपर्ने माग 
आइसिसीमाथि दबाब सिर्जना गर्दै पाकिस्तानले पनि आफ्ना खेल श्रीलंकामा हुनुपर्ने माग राखेको छ । भारतमा हुने सबै खेल श्रीलंकामा नहुँदा विश्वकपमा सहभागी नहुने उनीहरूको भनाइ छ । ‘हामीहरूको खेल भारतमा छ । त्यहाँ हामी पनि खेल्न सक्दैनौँ । 

हाम्रो खेल श्रीलंकामा हुनुपर्छ,’ पिसिबीले आइसिसीलाई भनेको छ, ‘यसअघिका प्रतियोगिताहरूमा श्रीलंकामा गएर खेल्न मिल्छ भने यसपटक विश्वकपमा किन मिल्दैन ।’ यसैबिच, बंगलादेश सरकारको खेलकुद सल्लाहकार असिफ नजरुलले आइसिसीको चेतावनीबाट कुनै डर नभएको बताएका छन् । ‘हामी कोही पनि आइसिसीबाट कारबाही हुन्छ भनी डराएका छैनौँ,’ नजरुलले भने, ‘बंगलादेश राष्ट्रियको सम्बन्धमा पछाडि हट्ने वाला छैन ।’ उनले पनि हाइब्रिड शैली विश्वकपमा पनि लागू हुनुपर्ने बताए । ‘भारतले पनि एसिया कप तथा च्याम्पियन्स ट्रफीमा तटस्थ भूमिमा राखेको थियो । अहिले हाम्रो माग पनि त्यही हो,’ उनले भने ।

बंगलादेशले आज निर्णय गर्नुपर्ने
आइसिसीले बंगलादेशलाई भारतमा गएर खेल्ने वा नखेल्ने सम्बन्धमा बुधबारसम्म निर्णय गर्न निर्देशन दिएको छ । भारतमा नखेल्ने अडान राख्दा बंगलादेशले विश्वकप गुमाउन सक्ने आइसिसीले घुमाउरो रूपमा चेतावनी दिइसकेको छ । बंगलादेश भारत गएर नखेल्दा उसको स्थानमा आइसिसी टी–२० वरीयताअनुसार स्कट्ल्यान्डलाई मौका दिने आइसिसीले जनाइसकेको छ । विश्वकपमा बंगलादेशका तीन खेल कोलकाता र एक खेल मुम्बईमा छ । बंगलादेशले कोलकातामा आफ्ना खेलाडी असुरक्षित हुने दाबी गरेको छ । बंगलादेशले खेल स्थल तथा ड्रसमेत परिवर्तन हुनुपर्ने माग आइसिसीमा राखेको छ । 

See More On

सुझावित समाचार