मंगलबार : १० बजेसम्मका १० मुख्य खबर

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छः प्रधानमन्त्री कार्की 
प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त गरेकी छिन्। मंगलबार एक सन्देश जारी गर्दै उनले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको  बताएकी छिन् ।  

सर्वाेच्च अदालतबाट गगन थापाको पक्षमा आदेश 
नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वाेच्च अदाललते गगन थापाको पक्षमा आदेश दिएको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लगायत नेताले गगनपक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले १५ दिनभित्र सो मुद्दामा अन्तिम सुनुवाई गर्न आदेश दिएको छ। 

गगन थापा र रवि लामिछानेले वारेसमार्फत दर्ता गरे उम्मेदवारी 
कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। गगनले सर्लाही ४ तथा रविले चितवन २ मा उम्मेदवारी दर्ता गराएका हुन्।  कांग्रेस सभापति थापा निर्वाचनको टिकटसम्बन्धी बैठकका कारण सर्लाही जान नसकेपछि वारेसमार्फत दर्ता गराएका हुन्।

काठमाडौंका १० क्षेत्रमा कांग्रेसले तोक्यो उम्मेदवार, अधिकांश नयाँ अनुहार 
नेपाली कांग्रेसले काठमाडौंका १० वटा क्षेत्रमै उम्मेदवार तय गरेको छ। काठमाडौंमा धेरै क्षेत्रमा नयाँ उम्मेदवार चयन भएका छन्।  कांग्रेसले काठमाडौं १ मा प्रबल थापा, काठमाडौं २ मा कविर शर्मा, काठमाडौं ३ मा रमेश अर्याल, काठमाडौं ४ मा सचिन तिमिल्सिना, काठमाडौं ५ मा प्रदीप पौडेल, काठमाडौं ६ मा कृष्णसबुज बानियाँ, काठमाडौं ७ मा प्रमोदहरि गुरागाईं,  काठमाडौं ८ मा सपना राजभण्डारी, काठमाडौं ९ मा नानु बाँस्तोला र काठमाडौं १० मा  हिमाल कार्कीलाई उम्मेदवार तोकेको छ। 

ओलीले गरे झापा ५ बाट उम्मेदवारी दर्ता
नेकपा एमालेका अध्यक्ष केपी ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

पूर्वी रुकुमबाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमबाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि चितवन र गोरखाबाट निर्वाचन लड्दै आएका थिए भने आसन्न फागुन २१ गते  हुने निर्वाचनका लागि पूर्वी रुकुम पुगेका हुन् ।  

झापा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । पहिलो नम्बरमा पालो रहेका बालेनले केहीबेरअघि मनोनयन दर्ता गराएका हुन् । उनको समर्थकमा भेषराज भट्टराई र प्रस्तावकमा भूमिनन्द बराल रहेका छन् ।

भारतले ६५० वटा गाडी सहयोग गर्ने 
भारतले निर्वाचनका लागि ६५० वटा गाडी सहयोग गर्ने भएको छ। त्यसमध्ये केही गाडी मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले गृह मन्त्रालयलाई हस्तान्तरण गरेको छ।  गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको कार्यक्रममा गाडी हस्तान्तरण भएको हो। यसमध्ये धेरै गाडी सुरक्षा निकायलाई दिने तयारी छ। 

सिन्धुलीमा बैंक डकैती गरेर फरार व्यक्ति कीर्तिपुरमा पक्राउ 
सिन्धुलीमा नेपाल एसबिआई बैंक डकैतीमा संलग्न एक अभियुक्त काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन्। सिन्धुलीको घ्याङलेख गाउँपालिका २ घर भएका ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको हो।  

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं 
निर्वाचन आयोगको उजुरीका आधारमा पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो । प्रसाईंलाई सोमबार प्रहरीले पोखरामा पक्राउ गरेको थियो। 

सुझावित समाचार