काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकास भइरहेको अवस्थालाई सम्बोधन गर्ने गरी चलचित्र विधेयक ल्याइएको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता, नयाँ प्रविधि र बदलिँदो अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यमान आवश्यकतालाई विधेयकले समेट्ने प्रयास गरेको बताए।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्रलाई परम्परागत रूपमा मनोरञ्जनको साधनका रूपमा मात्र बुझ्ने गरिएको भए पनि पछिल्लो समय यो उद्योगका रूपमा विकास भइसकेको उल्लेख गरे। चलचित्रको माध्यम, स्वरूप, प्रविधि र योगदानको दायरा विस्तार हुँदै गएको अवस्थामा पुरानो कानुनले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने उनको भनाइ छ।
चलचित्र क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्न आवश्यक रहेको बताए। चलचित्र क्षेत्रले खोजेको ऐन कस्तो हो भन्ने विषयमा समितिमा तथा संसदमा विस्तृत छलफल गरी आवश्यक व्यवस्था विधेयकमा समेटिने उनले विश्वास व्यक्त गरे। साथै, चलचित्र क्षेत्रका विद्यमान समस्या समाधान गर्ने र सरोकारवालाका माग सम्बोधन गर्ने गरी विधेयकलाई उत्कृष्ट बनाउन प्रयास गरिने उनले उल्लेख गरे।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेलले संविधानको धारा ५१ मा उल्लेख सामाजिक तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिको कार्यान्वयनका लागि नयाँ चलचित्र ऐन आवश्यक रहेको बताए। चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन तथा नियमनलाई समयानुकूल बनाउन र अन्तर्राष्ट्रियस्तरमा स्थापित सम्बन्धलाई कानुनी आधार प्रदान गर्न विधेयक आवश्यक रहेको उनको भनाइ थियो।
चलचित्र विकास बोर्ड एसियन फिल्म कमिसन नेटवर्कको सदस्य रहेको तथा विश्वका विभिन्न चलचित्रसम्बन्धी संस्थासँग सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै सचिव पौडेलले त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताए।