प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम–१ मा सात र क्षेत्र नम्बर २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका पूर्वउपाध्यक्षसमेत रहिसकेका रावल छैटाैँपटक यस क्षेत्रबाट चुनाव लड्न लागेका हुन् । उनी ०४८, ०५१, ०५६, ०७० र ०७४ मा पनि चुनावी मैदानमा थिए । यसअघि रावलसँग मुख्य प्रतिश्पर्धीका रूपमा रहेका कांग्रेस पार्टीका पूर्वजिल्ला सभापति भरतकुमार स्वार र एमालेका तर्फबाट दीपक साउदले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय साँफेबगरका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट ओमप्रकाश रावल, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रबहादुर शाही, राप्रपाका लोकेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवारका रूपमा भीमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।
अछाम क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट पार्टी सभापति पुष्पबहादुर शाह र एमालेका केन्द्रीय सदस्य यज्ञबहादुर बोगटीले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरू यसअघि ०७४ र ०७९ सालको प्रतिनिधिसभा निर्वाचनका प्रतिस्पर्धीसमेत हुन्। पहिलोपटक एमाले र तत्कालीन माओवादी केन्द्रको गठबन्धनबाट बोगटीले चुनाव जितेका थिए भने ०७९ मा उनै बोगटीलाई हराउँदै कांग्रेसका शाह विजयी भएका थिए। यी दुई उम्मेदवारको यो तेस्रो प्रतिस्पर्धा हो। यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बलबहादुर कुँवरलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलसेन–४ निवासी भूपदेव शाहलाई उम्मेदवार बनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसेन पुगेर उम्मेदवारी दर्ता गएका शाह यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन नगरप्रमुख बालेन्द्र शाहका प्रमुख स्वकीय सचिव थिए। क्षेत्र नम्बर २ मा नेकपा (माओवादी) का तर्फबाट शेरबहादुर विश्वकर्मा (दर्शन) ले उम्मेदवारी दिएका छन्।
यस्तै, राप्रपाका मीनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पुष्पराज न्यौपाने र उज्यालो नेपाल पार्टीका रमेश रावलले मनोनयन दर्ता गरेका छन्।