टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी छोडेका धर्मनाथप्रसाद साहले सिराहा क्षेत्र नं. ४ मा नेकपा (एमाले)बाट मनोनयनपत्र दर्ता गराएका छन्।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्जसमेत रहेका साह पार्टी एकीकरणपछि बनेको नेकपामा केन्द्रीय सदस्य थिए। आफ्नै पुर्ख्यौली क्षेत्रसमेत रहेको ४ नं क्षेत्रमा टिकटको आकांक्षी रहेका साहलाई पार्टी नेतृत्वले आश्वासन दिए पनि अन्तिम समयमा अजयशंकर नायकलाई टिकट दिएर पठाएपछि रुष्ट बनेका साह एमालेबाट उम्मेदवार बनेका हुन्।
निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकृत खिलाराज रेग्मीले पनि साहले एमालेको उम्मेदबारको रुपमा मनोनयन दर्ता गराएको पुष्टि गरे। २०७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट ४ नं क्षेत्रका प्रत्याशी उनी १४ हजार ६५३ मतसहित तेस्रो स्थानमा रहेका थिए। साह एमाले नफुट्दै प्रत्यक्ष र समानुपातिक गरी दुईपटक प्रतिनिधिसभा सदस्य र एकपटक मन्त्री भएका थिए।