ताप्लेजुङमा १३ दलका उम्मेदवार चुनावी मैदानमा

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठका अनुसार १३ राजनीतिक दलबाट उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ताप्लेजुङमा दलबाहेक स्वतन्त्र उम्मेदवारी भने परेको छैन । सहायक निर्वाचन अधिकृत तथा जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहले सबै उम्मेदवारी प्रक्रियाअनुसार सम्पन्न भएको जानकारी दिए ।

कांग्रेसबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले उम्मेदवारी दर्ता गराएका छन् भने एमालेबाट केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष छितिज थेवे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रप्रसाद थापा चुनावी मैदानमा उत्रिएका छन् । श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार बनेका छन् । उनी जिल्ला समन्वय समिति सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । उज्यालो नेपाल पार्टीबाट कीर्तिमान मादेन उम्मेदवार बनेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट संघीय सदस्य मुक्साम लावुङको उम्मेदवारी परेको छ । जनता समाजवादी पार्टी नेपालबाट सूर्य तमू, जनता समाजवादी पार्टीबाट अरुण लेछर्बो तथा नेपाल जनमुक्ति पार्टीबाट जिल्ला अध्यक्ष इन्द्रकुमार थलङ उम्मेदवार बनेका छन् ।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट नरपति पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
 

सुझावित समाचार