प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–२ बाट ४० जनाभन्दा बढीको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार पौने ६ बजेसम्ममा १९ दलका उम्मेदवार र २१ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । अझै केही उम्मेदवारी दर्ताको प्रक्रियामा रहेको उनले बताए । ५ बजेसम्ममा गेटभित्र प्रवेश गरेकाहरूको उम्मेदवारी दर्ता जारी रहेको उनले बताए ।
रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेसका चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुलभ खरेल, नेपाली कम्पुनिस्ट पार्टी (नेकपा)का विश्वदीप पाण्डेलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि एमाले उपाध्यक्ष विष्णु पौडेलले आफू यहाँका जनताको सेवामा समर्पित हुँदै आएको र सधैँ समर्पित हुँदै जाने बताएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रलाई विकासको पाठशालाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले पनि यस क्षेत्रको विकासका लागि चौतर्फी विकासमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । रास्वपाका उम्मेदवार खरेल र नेकपाका उम्मेदवार पाण्डेले पनि विकास निर्माणका सवालमा प्रतिबद्ध रहेको बताएका छन् ।