बैतडीमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले कांग्रेसबाट र निवर्तमान मन्त्री दामोदर भण्डारीले एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् । मुख्य प्रतिस्पर्धी मानिएका चन्द र भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
क्रिकेट एसोसिएसन नेपाल (क्यान)का अध्यक्ष तथा पार्टीका जिल्ला सभापति चन्द स्थानीयस्तरमा लोकप्रिय नेता मानिन्छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै चन्दले क्यानका लागि समय दिन नसक्ने अवस्था आएमा राजीनामा दिने बताए । नेपाल–भारत सीमानाका झुलाघाटमा मोटर पुल निर्माणलगायतका कामहरू गर्ने उनले बताए ।
त्यस्तै, पछिल्ला तीनवटा निर्वाचनमा विजय हासिल गर्दै आएका भण्डारी निवर्तमान मन्त्री परिषदमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री थिए । मजबुत संगठन र पार्टी एक ढिक्का रहेको अवस्थामा एमालेबाट उनी बलिया उम्मेदवार मानिन्छन् ।
चन्द र भण्डारीसँगै पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दका सुपुत्र भूपेन्द्र चन्दले पनि राप्रपाबाट उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै नेकपाबाट पर्मानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी मनोनयन दर्ता गर्ने क्रममा रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ११ बजेदेखि ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।