प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले बागलुङका दुवै क्षेत्रमा उम्मेदवार टुंगाएको छ । बागलुङ क्षेत्र नम्बर १ मा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेलको उम्मेदवारी टुंगो लगाएको कांग्रेस बागलुङका सचिव हरिहर शर्माले बताएका छन् ।
०५७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका श्रीस ०६० सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु उपसभापति र ०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । श्रीष कांग्रेसको १२औँ महाधिवेशनबाट निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन भने हाल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।
यस्तै, बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पौडेल नेपाल विद्यार्थी संघको सहमहामन्त्री हुँदै कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । श्रीस र पौडेलको उम्मेदवारी टुंगिएसँगै बागलुङका सवै राजनीतिक दलले आफ्नो उम्मेदवार टुंगाएका छन् ।
क्षेत्र नम्बर १ मा एमालेबाट हिराबहादुर केसी, नेपाली कम्युनिस्ट पार्टीबाट कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट कृष्ण अधिकारी, रास्वपाबाट सुशील खड्का र उज्यालो नेपाली पार्टीबाट राजेन्द्र शर्मा उम्मेदवार बनेका छन् ।
यसैगरी, क्षेत्र नम्बर २ मा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाल कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे अनिल, रास्वपाबाट सोम शर्मा उम्मेदवार बनेका छन्।