बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि सुरु हुने भएको छ। ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुन लागेको हो।
प्रतियोगिताको सबै खेलहरू महांकाल वडा ४ को बागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले एक लाख ५० हजार ५५ रुपैयाँ, उपविजेताले ७५ हजार ५५५ तथा तेस्रो हुनेले ३५ हजार ५५५ रुपैयाँ पाउनेछन्। चौथो स्थानमा रहने टोलीलाई २० हजार ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक लालबहादुर स्याङ्ताङले जानकारी दिए।
क्लबका अध्यक्ष डम्बरबहादुर स्याङ्ताङले प्रतियोगितामा सहभागिता जनाउन सात हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने बताए। प्रतियोगितामा सहभागिता जनाउन फागुन ४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ। अध्यक्ष स्याङ्ताङले यसअघि ह्यान्डबल र सेपाताक्रो आयोजना गर्दै आए पनि यसपटक भलिबल हुन लागेको जानकारी गराए।
प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ। हरेक टिममा १० जना खेलाडी रहनेछन्। जसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका दुई खेलाडी समावेश गर्न पाउनेछन्। महांकाल भलिबल क्लबका कप्तान दाेर्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए। खुला छनोट १६ देखि १८ माघसम्म हुनेछ।