एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ । निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गर्ने बताइएको छ ।
यो वर्षको क्रिएटर्स मेला शनिबार चितवनबाट सुरु भएको छ । त्यसपछि १० माघमा नेपालगन्ज र १६–१७ मा काठमाडौंमा आयोजना हुने बताइएको छ । सन् २०२३ मा सुरु भएदेखि नै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । कार्यक्रमले नेपाली युवालाई कन्टेन्ट क्रिएसनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुर्याउने लक्ष्यलाई आत्मसात् गर्दै आएको छ ।
‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीका योजनालाई कार्यान्वयनयोग्य सिप तथा वास्तविक अवसरमा बदल्नेमा केन्द्रित हुनेछ । ‘क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सिप तिखार्ने अवसर प्रदान गर्नेछ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।
क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ । जसअनुरूप मेलाका सहभागीलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ । प्रत्येक सहरमा एक जना विजेता छनोट गरिने र उनीहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।