स्कुलबस दुर्घटना हुँदा पाँचको मृत्यु

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

 धरान उपमहानगरपालिका– १३ स्थित जिरोप्वाइन्टमा स्कुलबस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । भेडेटारबाट आउँदै गरेको को.१ख ७११९ नम्बरको स्कुलबस आइतबार दिउँसो ४:१० बजे औषधि पसलमा ठोक्किँदा भएको दुर्घटनामा घटनास्थलमै पाँचजनाको मृत्यु भएको र १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काले बताए । 

टाइम्स इन्टरनेसनल एकेडेमी जनकपुरको बस दुर्घटनामा महोत्तरीका ३१ वर्षीय धैरियाकुमार यादव, रोहितकुमार मण्डलका १८ महिने छोरा रिसवकुमार मण्डल, सुनसरी धरानका सुवेक्षा सुब्बा, झापा मेचीनगरका नयन थापामगर र सुनसरी बराहाक्षेत्रका ओमश राईको मृत्यु भएको खड्काले बताए । बसमा सवारहरू स्कुल सञ्चालक तथा उनका आफन्तहरू रहेको खड्काले जानकारी दिए । ‘बसमा सवारहरू स्कुल सञ्चालक र उनका आफन्तहरू रहेको बुझिएको छ,’ उनले भने, ‘बस खरिद गरेको र पास गर्न आउँदा घुमघामपछि फर्किंदा दुर्घटना भएको हो ।’ 

बसमा सवार १२ जना घाइते भएका छन् । घाइते हुनेमा रिना मण्डल, जितेन्द्र मण्डल, महमत मुलाल (बसचालक), सुनेनादेवी मण्डल, लक्ष्मी मण्डल, राजा बाब, मनितादेवी मण्डल, पुनीता मण्डल र कृष्ण मण्डल छन् । यस्तै, रोहित मण्डल, रोहन मण्डल र यशोदा श्रेष्ठ पनि घाइते भएका छन् । घाइतेहरूको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी खड्काले जानकारी दिए । दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधिपसल सभा मेडिकलमा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ । एक स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार