राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रालिबिच प्रायोजन सम्झौता भएको छ।
एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका लागि छनोट भएको चित्लाङ एफसी र प्रभु लाइफ इन्स्योरेन्सबिच आइतबार लाइफ इन्स्योरेन्स पार्टनरका रूपमा सम्झौता भएको हो।
सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष सुगन तण्डुकार र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि काठमाडाैंमा जारी राष्ट्रिय लिगको टोली चित्लाङलाई प्रभु लाइफ इन्स्योरेन्सले एक वर्षका लागि आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिहरूमार्फत प्रभु लाइफ इन्स्योरेन्सको प्रवर्धन गर्नेछ।
सम्झौतापछि प्रभु लाइफ इन्स्योरेन्सका सिइओ प्रसाईंले देशको लोकप्रिय खेल र राष्ट्रिय लिगको टोली चित्लाङसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे। चित्लाङ एफसीका अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा केही गर्ने क्लबको उद्देश्यमा प्रभु लाइफ इन्स्योरेन्सको साथले थप ऊर्जा भरेको बताए।