विश्लेषक डा. हरि रोकालाई नेकपाले दियो खोटाङबाट टिकट

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा अर्थ/राजनीतिक विश्लेषक डा. हरि रोकालाई टिकट दिएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु निवासी डा. रोकालाई नेकपाले अर्थमन्त्री बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो।

खोटाङका नेताहरुसहित आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका डा. रोकालाई पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिएका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए। पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा रोकालाई संयोजक प्रचण्डले टिकट दिएका हुन्।

डा. रोकालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको टिकट दिँदै संयोजक प्रचण्डले नेपालका सुप्रसिद्ध वाम विश्लेषक राजनीतिक अभियानमा जोडिँदा देशभर बलियो सन्देश प्रवाह भएको प्रतिक्रिया दिए। प्रचण्डले डा. रोकालाई खोटाङे मतदाताले जिताएर पठाए अर्थमन्त्री बनाउने आश्वसन दिएको भिडियो क्लिप्ससमेत सार्वजनिक भएको छ।

२०३४ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय डा. रोका संविधानसभा सदस्यसमेत हुन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले पञ्चायतकालमा सात वर्ष नौ महिना जेल जीवन बिताएका थिए भने आठ महिना हिरासतमासमेत बसेका थिए।

प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा डा. रोकाले टिकट पाएपछि राजनीतिक हलचल सुरु भएको छ। यहाँ एमालेले जिल्ला अध्यक्ष देवबिक्रम राईलाई टिकट दिएको छ भने कांग्रेसमा अहिलेसम्म उम्मेदवारका विषयमा छलफल नै हुन सकेको छैन। केन्द्रमा भएको विशेष महाधिवेशनको विवाद टुंगो नलागेकाले उम्मेदवारको नाम टुंगो लाग्न बाँकी रहेको काँग्रेस खोटाङले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रविन्द्र ओझा, मिलन कान्छा किराँती र रुद्र गिरीको नाम चर्चामा छ भने श्रम संस्कृति पार्टीबाट आरेन राई र जनता समाजवादी पार्टी नेपालबाट राकेश राईको नाम टुंगो लागेको छ। रास्वपाबाट तीनजनाको नाम सिफारिस भए पनि आज रातिसम्ममा एक जनाको नाम सर्वसहमतिमा आउने जिल्ला सभापति मुकुन्द थापाले जानकारी दिए।

सुझावित समाचार