प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा सिराहा क्षेत्र नं. ४ मा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित डा. वीरेन्द्रप्रसाद महतो जनमत पार्टी प्रवेश गरेका छन्।
जसपा नेपाल विभाजनका वेला अशोक राई नेतृत्वको जसपामा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहेका महतो जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतबाट सदस्यता लिँदै पार्टी प्रवेश गरेका हुन्। महतो पुनः सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारीअन्तर्गत पार्टी प्रवेश गरेको बताइएको छ।
२०७९ को निर्वाचनमा सिराहा क्षे. नं. ४ बाट महतो २४ हजार १०२ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी जनमतका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याएका थिए। तेस्रो स्थानमा तत्कालीन नेकपा एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत प्राप्त गरेका थिए।