उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई २८ माघमा घोषणा गरिएको अर्ली इलेक्सन रोक्न अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले निर्वाचनको अन्तिम टुंगाे नलागुन्जेलसम्मका लागि निर्वाचन प्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।
‘...निर्वाचित कार्यसमितिको चार वर्षको कार्यकाल बाँकी नै रहेको अवस्थामा विपक्षी एन्फा कार्यसमितिको बैठकको मिति २०८२ पुस १६ गते निर्वाचनसम्बन्धी निर्णय एवं उक्त निर्वाचन गराउनेसम्बन्धी सम्पूर्ण कामकारबाही प्रस्तुत निवेदनको अन्तिम टुंगाे नलागुन्जेलसम्मका लागि यथास्थितिमा राख्नु भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
यसअघि पनि उच्च अदालतले एन्फाको अर्ली इलेक्सनका सबै प्रक्रिया रोक्न आदेश दिएको थियो।
यता, खेलकुदको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि ११ बुँदा संशोधन गरेर मात्रै निर्वाचन गर्न निर्देशन दिएको छ। तर, एन्फा नेतृत्व जसरी पनि पूर्वघोषित मितिमै चुनाव गराउन तल्लीन छ। सोहीअनुसार उम्मेदवारी मनोनयनपत्र दर्ताको कामसमेत सकाइसकेको छ।