बंगलादेशलाई फकाउँदै आइसिसी

शनिबार, ३ माघ, २०८२
डिजिटल संस्करण
  • श्रीलंकामा आफ्ना खेल नहुँदा आइसिसी टी–२० विश्वकपसमेत बहिष्कार गर्ने चेतावनी दिएको बंगलादेशसँग विवाद सुल्झाउन आइसिसीका दुई पदाधिकारी शनिबार ढाकामा छलफल गर्दै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)सँग वार्ताको तयारी गरेको छ । आइसिसी टी–२० पुरुष विश्वकपमा आफ्ना खेलहरू भारतमा नखेल्ने र श्रीलंकामा गएर प्रतिस्पर्धा गर्न पाउनुपर्ने अडान बंगलादेशले राखेको छ । विश्वकपअगाडि बंगलादेशको यस निर्णयले आइसिसी द्विविधामा परेको छ । आइसिसीले विश्वकपलाई सफल बनाउन दुई पक्षलाई सामानान्तर रूपमा व्यवहार गर्नुपर्नेछ । 

विश्वकपको विवाद सुल्झाउन आइसिसीका दुई प्रमुख अधिकारीले बिसिबीसँग वार्ताको तयारी गरेको एजेन्सीले जनाएको छ । बिसिबीका डाइरेक्टर इफतेखार रहमानले पनि शुक्रबार आइसिसीका पदाधिकारी बंगलादेश आउन लागेको जानकारी दिएका छन् । ‘आइसिसीका प्रतिनिधि शनिबारसम्म ढाका आउनेछन्,’ रहमानले भने, ‘आइसिसीका जिम्मेवार अधिकारीले विवाद सुल्झाउने आशा छ ।’ 

सेर ए बंग्ला राष्ट्रिय रंगशालामा हुने विशेष बैठकमा बंगलादेश क्रिकेट बोर्डका अधिकारी र सरकारबाट मोहमद युनिस रहनेछन् । गत १३ जनवरीमा आइसिसीका प्रतिनिधिले बिसिबीका अधिकारीसँग भिडियो कलमा छलफल गरेका थिए । सो वार्तामा कुनै निष्कर्ष निस्केन । दुई साताअघि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले कोलकाता नाइट राइडर्सका बंगलादेशी खेलाडी रहमानलाई निकाल्न निर्देशन दिएपछि बंगलादेश र भारतबिचको सम्बन्ध चिसिएको हो । 

बंगलादेशले आफ्ना खेलाडीलाई अपमान गरेको जनाउँदै विश्वकपमा भारतीय भूमिमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेको थियो । आइसिसीलाई तत्काल पत्रमातर्फ उनीहरूले श्रीलंकाली भूमिमा आफ्ना खेल राख्न आग्रह गरेको थियो । तर, आइसिसीले उल्टै माग सम्बोधन गर्नुको सट्टा बंगलादेशलाई भारतमै आएर खेल्नुपर्ने र प्रतिस्पर्धामा सहभागी नहुँदा दुई अंक काटिने भनी चेतावनी दिएको थियो । 

आइसिसीको यस्तो चेतावनीपछि बंगलादेश थप रुष्ट भयो । त्यसपछि बिसिबीले राष्ट्रियता सम्बन्धमा कसैसँग सम्झौता नगर्ने बतायो । ‘हाम्रा लागि सबैभन्दा ठुलो राष्ट्र र खेलाडी हो । त्यसपछि मात्र विश्वकप हो । यदि यी दुवै पक्षमा आइसिसीले विचार गरेन भने बंगलादेशले विश्वकप नखेल्न सक्छ,’ बिसिबीले आइसिसीलाई पठाएको पत्रमा भनिएको थियो, ‘यस पक्षमा सम्बन्धित निकायले गम्भीर भएर निर्णय गर्नुपर्छ ।’ 

बंगलादेशले पाकिस्तानको उदाहरण आइसिसीसमक्ष राखेको छ । एसिया कप तथा च्याम्पियन्स ट्रफीमा पाकिस्तानमा आफ्ना खेलाडी असुरक्षित रहेको भनी भारतले श्रीलंका र दुबईमा प्रतिस्पर्धा गरेको थियो । ‘यदि भारत पाकिस्तानमा नगएर अन्य राष्ट्रमा प्रतिस्पर्धा गर्न मिल्छ भने हामी पनि हाम्रा खेलाडीको सुरक्षाका कारण भारतमा जान सक्दैनौँ र अन्य तटस्थ भूमिमा खेल्न पाउनुपर्छ,’ बिसिबीले भनेको छ । 

बंगलादेश पछि नहट्ने
दुईवटा क्रिकेट बोर्डबिचको विवाद सुल्झाउन विशेष प्याकेजका साथ आइसिसीका प्रतिनिधि शनिबार ढाका पुग्दा बंगलादेशले आफू पछाडि नहट्ने जनाएको छ । आइसिसीले बारम्बार बंगलादेशलाई निर्णयमाथि पुनर्विचार गर्न भनेको छ । तर, बिसिबीले भने भारतसँग घुँडा नटेक्ने र जस्तोसुकै कारबाही भोग्न तयार भएको प्रस्ट रूपमा आइसिसीलाई जवाफ दिइसकेको छ । यो केवल उनीहरूबिचको भिडियो–वार्तामा भएको थियो । अब प्रत्यक्ष रूपमा फेस टु फेस हुँदा दुई पक्ष नै केही लचिलो हुन सक्ने एजेन्सीले जनाएको छ । ‘खेलाडी, अफिसियल र स्टाफहरूको सुरक्षा हुनुपर्छ । हामीलाई लाग्दैन कि भारतमा हाम्रा खेलाडी सुरक्षित छन्,’ बिसिबीका डाइरेक्टर रहमानले भने, ‘हामी यस पक्षमा निर्धक्क हुन सक्दैनौँ ।’ 

रहमानबाट सुरु भएको विवाद
बंगलादेशमा एक हिन्दुको हत्या भएपछि दुई राष्ट्रबिच राजनीति टकराव भएको थियो । यसको असर क्रिकेटसम्म पुग्यो । बिसिसिआईले तत्कालै आइपिएलको फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सलाई बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई निकाल्न निर्देशन दियो । कोलकाताले पनि बिसिसिआईको निर्देशनअनुसारै उनलाई टोलीबाट हटाइयो । अघिल्लो महिना दुबईमा भएको आइपिएलको अक्समा कोलकाताले रहमानलाई नौ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो । बंगलादेशले पनि प्रतिशोध लिँदै आफ्नो देशमा आइपिएल खेल प्रसारण नहुने निर्णय गर्यो । आइपिएलबाट रहमानलाई हटाएको घटना अब विश्वकपसम्म पुगेको छ । 

See More On

सुझावित समाचार