बिहीबार : १० बजेसम्मका १० मुख्य खबर

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

पार्टीको विवरण छिटो अद्यावधिक गर्न निर्वाचन आयोगलाई गगन पक्षको आग्रह
विशेष महाधिवेशनपछि गठन भएको गगन थापाको नेतृत्वमा रहेको कांग्रेस कार्यसमितिले आफ्नो पहिलो बैठकका निर्णय कार्यान्वयनमा ल्याउने प्रक्रिया थालेको छ। सोही क्रममा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरू पार्टी विवरण अद्यावधिकका लागि निर्वाचन आयोग पुगेर निवेदन दिएका छन्।  सहमहामन्त्री डिला संग्रौलाका अनुसार केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीसम्बन्धी सबै विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय गरेपछि सो प्रक्रिया सुरु गरिएको हो ।

नेतृत्व चयनको विवरणसहित विशेष महाधिवेशनको कागजात आयोगमा बुझाइयो
कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्ताबेज निर्वाचन आयोगमा बुझाएका छन्। सभापति थापाले बिहीबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । 

दोषी र निर्दाेषको कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न चाहन्न : डा.शेखर कोइराला 
कांग्रेसका नेता डा.शेखर कोइरालाले दोषी र निर्दाेषको कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न नचाहने बताएका छन्। बिहीबार बिहान विशेष महाधिवेशनले सभापतिमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि सामाजिक सञ्जालमा स्टाटस लेखेर डा कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने आफूहरुको भागिरथ प्रयास सफल हुन नसकेको उल्लेख गरे ।  आफूहरु सबैजना कही न कही चुकेको कुरा स्विकार्न कुनै संकोच मान्नु नहुने बताए ।

एसबिआई बैंक लुटपाट : घरधनीकै भूमिका शंकास्पद 
सिन्धुलीको घ्याङलेकस्थित एसबिआई बैंकको शाखामा भएको लुटपाटमा बैंकको कार्यालय रहेको घरकै धनीको भूमिका शंकास्पद देखिएको छ। प्रहरीले घरधनी छविलाल स्याङ्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनलाई बर्दीबासबाट पक्राउ गरिएको उनको संलग्नताबारे अनुसन्धान जारी रहेको शुक्रबार विस्तृत विवरण सार्वजनिक गरिने सिन्धुलीका एसपी लालध्वज सुवेदी बताउँछन्। लुटेरा समूहसँग उनको कनेक्सन देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गगन थापालाई बाबुराम भट्टराईको बधाई, भने– पुराना दलहरूको पुनर्संरचना प्रक्रिया सुरु भयो
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापालाई सभापतिमा निर्वाचित हुन सफल भएकोमा बधाई दिएका छन्। उनले यसलाई पुराना राजनीतिक दलहरूमा समयानुकूल सुधार र पुनर्संरचनाको सुरुवात भएको महत्त्वपूर्ण कदमको रूपमा मूल्यांकन गरेका छन्। 

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बाग्लुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्वोधन गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएका हुन् । 

कांग्रेस चुनावी तयारीमा जुट्यो, घोषणापत्र गगनले तयार गर्ने
गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक र चुनावी तयारी तीव्र बनाएको छ। पार्टीले घोषणापत्र निर्माणदेखि निर्वाचन परिचालनसम्मका जिम्मेवारी तोकेको छ। ललितपुरको कुपन्डोलमा बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको संयोजकत्वमा घोषणापत्र लेखन समिति गठन गर्ने निर्णय गरेको हो। 

थारू बहुल बस्तीमा माघी महोत्सव आयोजना 
सिराहाका विभिन्न स्थानीय तहहरूमा थारू समुदायले माघे संक्रान्तिको अवसर पारेर माघी महोत्सव तथा मेला आयोजना गरेका छन् । थारू संवत् २६४९ को सन्दर्भ पारेर माघे संक्रान्तिको दिन बिहीबार सिराहाको लहान, धनगढीमाई, नरहा, सखुवानन्कारकट्टीलगायतका स्थानीय तहहरूमा माघेसंक्रान्तिको अवसरमा महोत्सव गरिएको छ।

पूर्वमन्त्री हृदयराम थानी फागुन २१ मा उम्मेदवार नबन्ने
कांग्रेसका नेता तथा पूर्वमन्त्री हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय सार्वजनिक गरेका छन्। देश जेन–जी आन्दोलनपछिका राजनीतिक उतार–चढाव र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले संविधानलाई सही दिशामा अघि बढाउन तोकिएको मितिमै निर्वाचन हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

अस्ट्रेलियन पूर्वबलर हार्भे नेपालको बलिङ कन्सल्ट्यान्ट
नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियन पूर्वबलर इयान हार्भेलाई नेपाली राष्ट्रिय टिमको बलिङ कन्सल्ट्यान्टको रूपमा भित्र्याएको छ । क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हार्भेलाई आगामी महिना भारत र श्रीलंकामा हुने टी–२० विश्वकपको लागि टोलीमा समावेश गरेको जानकारी गराएको हो।

सुझावित समाचार