राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको बलेवा पैयुँपाटामा रहेको त्रिभुवन माविको हीरक जयन्ती तथा विद्यार्थी पुगर्मिलन कार्यक्रमको मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा आएका थिए । दिउँसो १२.१५ मा कार्यक्रम स्थलमा पुगेका पौडेल झन्डै २ घण्टा कार्यक्रमस्थलमा बसे कार्यक्रममा आयोजकले केही पूर्वविद्यार्थीहरूलाई सम्मानको कार्यक्रम राखेको थियो सम्मान सकिएसँगै राष्ट्रपति पौडेलले सम्बोधन गरे उनको सम्बोधनपश्चात् आयोजकले पौडेललाई बिदाइ गर्ने तयारी गर्यो।
बिदाइ गर्नुपूर्व आयोजक र बागलुङ नगरपालिकाको तर्फबाट नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मायाको चिनो प्रदान गर्ने उद्घोष गरियो। मायाको चिनोको रूपमा बागलुङमा उत्पादन हुने बुट्टेनली थियो। जब कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले मायाको चिनोको रूपमा बुट्टेनली प्रदान गर्न खोजे पछाडि र दायाँबायाँ रहेका सुरक्षाकर्मीहरू आश्चर्य भएर हेर राष्ट्रपति पौडेल पनि छक्क मुद्रामा देखिन्थे।
बागलुङको मौलिक पहिचान र सांस्कृतिक धरोहरका रूपमा परिचित बुट्टेनली यहाँ आउने पाहुना तथा विशिष्ट व्यक्तिलाई मायाको चिनोको रूपमा प्रदान गर्ने गरिन्छ। बागलुङको कला, संस्कृति र परम्परालाई झल्काउने बुट्टेनली हातमा लिँदै गर्दा राष्ट्रपति पौडेलले यसको बारेमा सोधिरहेका थिए । दुई सय वर्ष पुरानो बुट्टेनली बागलुङको पहिचानको रूपमा लिने गरिन्छ ।
बाँस तथा निगालोको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जंगली जनावर, मयूर, फूल, दृश्य, पौराणिक कालदेखि आधुनिककालसम्मका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको निगालो तथा बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आइएको छ। यही बुट्टेनली बागलुङको मायाँको चिनोको रूपमा प्रदान गर्ने गरिन्छ।
स्थानीयस्तरमा उत्पादन हुने बुट्टेनली बागलुङको ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको पहिरनका रूपमा चिनिने हुँदा यहाँ आउने पाहुनालाई यहीँको उत्पादन प्रदान गर्ने गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन्। राष्ट्रपतिलाई बुट्टेनली प्रदान गर्नुले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै बागलुङको संस्कृति राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास लिइएको श्रेष्ठको भनाइ छ। उनले बुट्टेनली केवल एउटा लौरोको रूपमा मात्र नभई बागलुङको पहिचान, मेहनत र परम्पराको प्रतीक भएको बताए। यस्ता सांस्कृतिक चिनोहरू राष्ट्रिय व्यक्तित्वलाई प्रदान गर्दा स्थानीय उत्पादनको सम्मान र संरक्षणमा थप टेवा पुग्ने श्रेष्ठ बताउँछन्। पछिल्लो समयमा यसको सिप पुस्तान्तरण नहुँदा बुट्टेनली निर्माण गर्ने कलाकार भने केहीमा सीमित रहेका छन्।
बुट्टेनलीसँग बागलुङ नगरपालिकाको तर्फबाट नगरप्रमुख श्रेष्ठले कालिगण्डकीमा पाइने शालिग्राम शिला मायाको रूपमा राष्ट्रपति पौडेललाई प्रदान गरेका छन्। भगवान विष्णुको प्रतीकको रूपमा चिनिने शिला बागलुङ आउने अतिथिका लागि दिने गरिएको छ।