विद्यार्थी ठगी प्रकरण : सिआइबीले ब्रिटिस कलेजमाथि थाल्यो अनुसन्धान

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ब्रिटिस कलेजमाथि अनुसन्धान अघि बढाएको छ । इन्टर्नसिपका नाममा विद्यार्थी ठगी गरेको तथ्य बाहिर आएपछि सिआइबीले कलेजमाथि अनुसन्धान थालेको हो । शिक्षा मन्त्रालयले गत आइतबार यस विषयमा थप अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो ।

सिआइबी प्रवक्ता शिवकुमार श्रेष्ठले शिक्षा मन्त्रालयबाट पत्र प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान थालिएको जानकारी दिए । ‘मन्त्रालयले आफूले गरेको अनुसन्धान कपीसहित पत्र पठाएको छ, विद्यार्थीलाई ठगी गरेको भन्ने विषय उल्लेख छन्, हामीले पनि थप अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘अनुसन्धान टोलीले कलेजमाथि अनुसन्धान अघि बढाइसकेको छ ।’ उनले पीडित विद्यार्थीबाट उजुरी भने नआएको बताए ।

शिक्षा मन्त्रालयले कलेजमाथि थप छानबिन र अनुसन्धान आवश्यक देखिएको भन्दै सिआइबीलाई आफूले गरेको छानबिनको कपीसहित पत्राचार गरेको थियो । मन्त्रालयको टोलीले अध्ययन गर्दा कलेजको गल्ती देखिएको छ । मन्त्रालयले अनुसन्धानका क्रममा अस्तव्यस्त रूपमा शैक्षिक क्रियाकलाप सञ्चालन गरेको, अनुमति नलिएका कार्यक्रम सञ्चालन गरेको, विद्यार्थीबाट चर्को शुल्क असुलेको, कर नतिरेको, इन्टर्नसिपमा ठगी गरेको, विद्यार्थीमाथि धम्की दिएकोलगायत भेटिएको छ ।

कलेज भवनसमेत ट्रेड सेन्टरमा सञ्चालन भएको, शैक्षिकभन्दा पनि व्यापारिक नाफाका लागि कलेज सञ्चालन गरेको पाइएपछि थप कारबाही र अनुसन्धानको आवश्यकता देखिएकाले मन्त्रालयले सिआइबीलाई पत्राचार गरेको हो । ‘कलेजले भद्रगोल तरिकाले शैक्षिक गतिविधि चलाएको रहेछ, अब कारबाही गर्न मन्त्रालयले मात्रै नसक्ने भएकाले सिआइबीलाई पत्र काटेका हौँ, त्यसपछि सिआइबीले के–के गरिरहेको छ थाहा छैन,’ शिक्षामन्त्री महावीर पुनले भने, ‘पत्रबारे उताबाट प्रतिक्रिया आएको पनि छैन, सचिवज्यूहरूसँग कुराकानी गर्दा यो विषय जटिल देखिएकाले सिआइबीको साथ खोजेका हौँ, मन्त्रालय तवरबाट छानबिन गर्दा कलेजको बदमासी देखिएको छ ।’

कलेजले इन्टर्नसिपमा दुबई पठाएर झुक्याएपछि विद्यार्थीहरू एक महिनादेखि शिक्षा मन्त्रालय धाउन थालेका थिए । मन्त्रालयले कलेज र विद्यार्थीसँग त्यससँग सम्बन्धित कागजात माग गरेर छानबिन गर्दा कलेजकै गल्ती देखिएको छ । कलेजले होटेल म्यानेजमेन्टका १९ विद्यार्थीलाई २३ भदौमा दुबई पठाएर अलपत्र पारेको थियो । त्यसपछि शिक्षा मन्त्रालयमा पुगेर पीडित विद्यार्थीले उजुरी दिएका थिए । तर, कतिपय विद्यार्थीले भने कलेजसँग बार्गेनिङ गर्न थालेको, पीडित विद्यार्थीलाई कलेज प्रशासनसँग मिलेर फकाउने गरेको पाइएपछि शिक्षा मन्त्रालयले शुक्रबार बैठक राखेर त्यस्तो नगर्न निर्देशन दिएको थियो ।

शिवकुमार श्रेष्ठ, प्रवक्ता, सिआइबी
शिक्षा मन्त्रालयबाट पत्र प्राप्त भएपछि प्रारम्भिक अनुसन्धान सुरु भएको छ । मन्त्रालयले आफूले गरेको अनुसन्धान कपीसहित पत्र पठाएको छ, विद्यार्थीलाई ठगी गरेको भन्ने विषय उल्लेख छन् । हामीले पनि थप अनुसन्धान अघि बढाएका छौँ ।

सुझावित समाचार