पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.०२% हुने अनुमान

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण
  • पहिलो त्रैमासमा सरकारी खर्च नहुने प्रवृत्ति तथा २३ र २४ भदौको जेन–जी आन्दोलनपछिको असरले त्रैमासिक आधारमा वृद्धिदर १.७% ले ऋणात्मक

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.०२ प्रतिशत हुने सरकारी अनुमान छ । गत आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत रहने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो वृद्धिदर २.९ प्रतिशत थियो ।

सामान्यतया, पहिलो त्रैमासमा सरकारले भुक्तानी नगर्ने प्रवृत्ति हुने भएकाले यो समयमा आर्थिक वृद्धिदर कमजोर नै रहने केन्द्रीय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेको विश्लेषण छ । उनले भने, ‘सामान्यतया समीक्षा अवधिको त्रैमासको वृद्धिदरलाई अघिल्लो आर्थिक वर्षको सोही अवधिको त्रैमासको वृद्धिदरसँग तुलना गर्नुपर्ने हुन्छ । तर, अघिल्लो चौथो त्रैमाससँग चालू आवको पहिलो त्रैमाससँग तुलना गरिएको तथ्यांकले सरकारलाई खर्च गर्नुपर्ने आवश्यकता औँल्याएको छ । यसले सरकारलाई योजना बनाउन मद्दत पुग्छ । सरकारले खर्च नगर्ने भएकाले नै पहिलो त्रैमासमा वृद्धिदर कमजोर देखिने गरेको छ ।’

यद्यपि, अघिल्लो आवको त्रैमाससँग तुलना गर्दा वृद्धिदर कमजोर देखिएको छ । गत आर्थिक वर्ष ०८१/८२ को चौथो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर १.७ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । यसअघि आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमासमा १.६ प्रतिशत ऋणात्मक वृद्धिदर देखिएको थियो । त्यसयता लगातार सकारात्मक वृद्धिदर देखिँदै आएकोमा झन्डै तीन वर्षपछि पुन: अर्थतन्त्र ऋणात्मक वृद्धिमा गएको हो ।

२३ र २४ भदौको जेन–जी आन्दोलनले आर्थिक क्रियाकलाप प्रभावित बनाएकाले पनि वृद्धिदर ऋणात्मक बन्ने अवस्था आएको उनको भनाइ छ । यद्यपि, दोस्रो त्रैमासमा वृद्धिदरमा सुधार आउने उनको अपेक्षा छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर दुई तरिकाले गणना गर्छ । पहिलो, चालू त्रैमासलाई अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससँग तुलना गरेर । दोस्रो, चालू त्रैमासलाई त्यसअघिको त्रैमाससँग तुलना गरेर । यसैकारण एउटै अवधिमा पनि आर्थिक वृद्धिदर फरक–फरक देखिएको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा खाद्यान्न बाली, वन पैदावर, निर्जीवन बिमा, निर्माण सामग्रीजस्ता केही क्षेत्र संकुचनमा गएका छन् । यसले समग्र वृद्धिदरलाई दबाबमा पारेको तथ्यांक कार्यालयले जनाएको छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषिक्षेत्रको वृद्धिदर १.३६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । धानबालीको उत्पादनमा भएको कमी देखिएको छ । पशुपन्छी, तरकारीबाली तथा फलफूल उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ३.८९ प्रतिशत भएको अनुमान गरिएको छ ।

व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ । त्यसैगरी, गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा कम वृद्धिदर १.११ प्रतिशत पानी आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन तथा उपचारात्मक क्रियाकलाप र यो क्षेत्रपछिको कम वृद्धिदर १.१९ प्रतिशत मानव स्वास्थ्य तथा सामाजिक क्रियाकलापको छ । यद्यपि, विद्युत् उत्पादन तथा वितरण, वित्तीय सेवा, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी, व्यापार, पर्यटन आगमनलगायत क्षेत्रमा सुधार देखिएकाले कुल गार्हस्थ्य उत्पादन ३.०२ प्रतिशतले बढ्ने अनुमान गरिएको हो ।

त्रैमासिक आधारमा हेर्दा अर्थतन्त्रको ठुलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्र १.६५ प्रतिशतले संकुचित भएको छ । त्यस्तै, खानी तथा उत्खनन क्षेत्र १०.०५ प्रतिशत र सार्वजनिक प्रशासन, सुरक्षा तथा सामाजिक सुरक्षासम्बन्धी क्रियाकलाप ५.९५ प्रतिशतले ऋणात्मक देखिएका छन् । यी प्रमुख क्षेत्रहरूको संकुचनका कारण चालू आवको पहिलो त्रैमासमा समग्र अर्थतन्त्र १.६८ प्रतिशत ऋणात्मक भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सुझावित समाचार