- आइसिसी महिला टी–२० ग्लोबल छनोटको अभ्यास खेलमा नेपालले बुधबार आयरल्यान्डविरुद्ध ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गर्यो
राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटको तयारीमा व्यस्त छ । नेपालले विश्वकपको मुख्य प्रतिस्पर्धा गर्नुअघि अभ्यास खेल खेलिरहेको छ । तर, घरेलु मैदानमा महिला टोलीले सोचेजस्तो नतिजा निकाल्न सकिरहेको छैन । अभ्यास खेलमा नेपालले एकपटक मात्र अमेरिकालाई हराएको थियो । यसबाहेक अन्य खेलमा हार सामना गरेको छ ।
तल्लो मूलपानी मैदानमा बुधबार नेपालले बलियो राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्यो । जसमा नेपाल ९९ रनको फराकिलो अन्तरले पराजित भयो । आयरल्यान्डसँगको प्रतिस्पर्धामा नेपालको ब्याटिङ, फिल्डिङ र बलिङ फितलो रह्यो । नेपाली बलरको कमजोर बलिङका कारण आयरल्यान्डले नेपालविरुद्ध २० ओभरमा सात विकेट गुमाएर २०० रनको बलियो स्कोर खडा गर्यो ।
प्रतिओभर १० रनमा ब्याटिङ गर्नुपर्ने अवस्थामा नेपालका महिला खेलाडीले १९ ओभरमा खेल्दा १०१ रन मात्र जोडे । आयरल्यान्डले नेपालमाथि सानदार ९९ रनको जित निकाल्यो । नेपालको ब्याटिङमा कसैले पनि ठुलो रन तथा साझेदारी गर्न सकेनन् । मध्यक्रमकी कविता जोशीले सर्वाधिक २८ रन बनाउन २९ बलमा ६ चौका हिर्काएकी थिइन् । ओपनर विन्दु रावलले २८ बलमा २५ रन बनाउन पाँच चौका प्रहार गरिन् । नेपालले पावर प्लेमा दुई विकेट गुमाएको थियो । ४.१ ओभरमा सम्झना खड्का र काजल श्रेष्ठलाई गुमाएपछि नेपाल दबाबमा आएको थियो । कप्तान इन्दु बर्माले १२ रन जोडिन् । नेपालको ब्याटिङमा विन्दु र पूजा महतोले २० रनको साझेदारी गरेका थिए । कविता र सीता रानामगरले समान २० रनकै साझेदारी गरे ।
तीन ब्याट्सम्यान रिटायर्ड हट
आयरल्यान्डको ब्याटिङमा शीर्ष चार ब्याट्सम्यानले उत्कृष्ट योगदान दिएका थिए । दोस्रो ओपनरदेखि चौथो क्रमका ब्याट्सम्यान रिटायर्ड हट भएका थिए । कप्तान गावी लेविसले ३८ बलमा ७७ रनको योगदान दिइन् । उनी खेलको ९.६ ओभरमा रिटायर्ड हट भइन् । उनले नेपाली बलरविरुद्ध आक्रामक हुँदै १२ चौका र दुई छक्का प्रहार गरिन् । ओर्ला प्रेन्डेगास्टले २९ बलमा आठ चौका र तीन छक्का प्रहार गरी ६२ रन बनाइन् । उनी १४.६ ओभरमा रिटायर्ड हट भइन् । लेह पाउलले पनि रिटायर्ड हट हुनुअघि १९ बलमा २१ रन बनाइन् । नेपालको बलिङमा रुविना क्षेत्रीले दुई विकेट हात पारेकी थिइन् ।
थाइल्यान्ड सात विकेटले विजयी
ग्लोबल छनोटअन्तर्गत बुधबारै भएको अर्को अभ्यास खेलमा थाइल्यान्डले नामिबियामाथि सात विकेटले जित निकालेको छ । पहिलो ब्याटिङ गरेको नामिबियाले २० ओभरमा पाँच विकेट गुमाएर १०७ रन बनाएको थियो । थाइल्यान्डले १६.३ ओभरमा तीन विकेटको क्षतिमा १११ रन बनाएको थियो । अर्को खेलमा पपुवा न्युगिनीले जिम्बावेमाथि ११ रनको जित हात पार्यो । पपुवा न्युगिनीले सुरुमा ब्याटिङ गरी ६ विकेटको क्षतिमा १३१ रन जोडेको थियो । आइसिसीको पूर्ण सदस्य जिम्बावेले २० ओभरमा नौ विकेट गुमाएर १२० रन मात्र जोड्यो । बंगलादेश नेदरल्यान्ड्सविरुद्ध २६ रनले विजयी भयो ।
नेपाल समूह ‘बी’मा
नेपालले पहिलोपटक आयोजना गर्न लागेको आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट आगामी १८ जनवरीदेखि सुरु हुँदै छ । छनोट खेल १ फेब्रुअरीसम्म चल्नेछ । प्रतियोगितामा १० राष्ट्र सहभागी छन् । नेपाल समूह ‘बी’मा छ । नेपालले थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ र ‘बी’का शीर्ष तीन टोलीले सुपर सिक्स स्थान पक्का गर्नेछन् । सुपर सिक्सका शीर्ष चार टोलीले अगामी जुनमा इंग्ल्यान्डले आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछन् ।