बुधबार : १० बजेसम्मका १० मुख्य खबर

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण

चुनावको मुखमा फुट्यो कांग्रेस 
प्रतिनिधिसभा निर्वाचनको मुखमा नेपाली कांग्रेस विभाजन भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको निर्णय संस्थापन पक्षले गरेपछि पार्टी विभाजित भएको हो। कारबाहीसम्बन्धी जानकारीसमेत संस्थापन पक्षले निर्वाचन आयोगलाई बुधबार नै दिइसकेको छ। 

आधिकारिकता दाबी गर्दै कांग्रेसका दुवै पक्षद्वारा निर्वाचन आयोगलाई पत्राचार
आधिकारिकताको दाबी गर्दै नेपाली कांग्रेसको दुवै पक्षले निर्वाचन आयोगलाई पत्राचार गरेको छ। संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको भनेर पत्र लेखेको छ भने विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले आफूहरू आधिकारिक भएको दाबी गरेको छ। 

विशेष महाधिवेशनः सभापतिमा गगन र महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे निर्विरोध
नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापति र महामन्त्री सर्वसम्मत रूपमा चयन गरेको छ। सभापतिमा गगन थापा र महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको हो।  यसअघि विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताइए पनि उनी पछि हटेका छन्। 

संस्थापन पक्षद्वारा कांग्रेस महामन्त्रीद्वय र सहमहामन्त्री मन्सुरलाई पार्टीबाट निष्कासन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ। बैठकले पदाधिकारीहरूलाई मात्रै कारबाही गरेको र अन्य केन्द्रीय नेतादेखि महाधिवेशन प्रतिनिधिसम्मलाई आफ्नो पार्टीको जिम्मेवारीमा फर्किन निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन स्वीकृति दिने निर्णय 
महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ। ‘...ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ। 

एसबिआई बैंक सिन्धुली शाखा लुटपाटमा संलग्न चालकसहित पाँच पक्राउ
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न चालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको विवरण भने भोलि मात्रै सार्वजनिक प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गर्दा अनुसन्धानमा प्रभाव पर्ने देखिएकाले सार्वजनिक नगरेको उनको भनाइ छ ।

सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
सर्लाहीको बलरा नगरपालिकाका मेयरसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। खेलौना बनाउने तालिमका नाममा चार लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो।  

कुलमानको स्पष्टीकरण– कुनै पनि पार्टीसँग एकीकरण गर्दैनौँ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेकपा वा अन्य कुनै दलसँग एकीकरण नगर्ने प्रस्ट पारेका छन्। अन्य दलहरूसँग एकीकरण गर्न लागेको भन्ने हल्ला असत्य रहेको बताउँदै घिसिङले भविष्यमा पनि कुनै पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढ्ने स्पष्टीकरण दिएका हुन्।

राष्ट्रिय लिगमा  फ्रेन्ड्सको विजयी सुरुवात
एन्फाले करिब तीन वर्षपछि घरेलु फुटबल फर्काउँदा फ्रेन्ड्स क्लबले राष्ट्रिय लिगको उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्सले प्रेसिडेन्ट लिगबाट आएको काँक्रेविहार क्लबलाई ३–१ ले पराजित गर्दै तीन अंक जोडेको हो।

‘वार्मअप’ खेलमा नेपाल ९९ रनले पराजित
नेपाल टी–२० महिला विश्वकप ग्लोबल छनोटको ‘वार्मअप’ खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भएको छ। बुधबार तल्लो मूलपानी मैदानमा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा चुक्यो। नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक विश्वकपमा स्थान बनाउने योजनासहित भारतीय प्रशिक्षक हर्षलजयन्त पाठकलाई अनुबन्ध गरेको थियो। उनी नियुक्त भए पनि वार्मअपको पहिलो खेलमै नेपाल चुकेको छ।
 

सुझावित समाचार