सशस्त्र प्रहरीको ‘पूर्व–पश्चिम झन्डा मार्च’ कपिलवस्तुमा

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ तथा रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा सञ्चालन गरिएको ‘पूर्व–पश्चिम झन्डा मार्च’ अभियानअन्तर्गतको टोली बुधबार कपिलवस्तु आइपुगेको छ। टोली बुधबार कपिलवस्तुको विजयनगर गाउँपालिका–५ स्थित ठकुरापुरमा रहेको सीमास्तम्भ नम्बर ५७८.४ मा आइपुगेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई दाङका गणपति सशस्त्र प्रहरी उपरीक्षक मनोज धितालले सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीको टोलीलाई औपचारिक रूपमा पूर्व–पश्चिम झन्डा मार्च हस्तान्तरण गरेका बताए।

आजबाट ३५ सदस्यीय सशस्त्र प्रहरीको टोलीले कपिलवस्तुका विभिन्न सीमानाकामा पैदल यात्रा गर्दै झन्डा मार्च सुरु गरेको छ। टोलीले सीमानाका कृष्णनगर भिल्मी हदौना, मर्यादपुर, चाकरचौडा हुँदै शुद्धोधन गाउँपालिकाको घेराउजोतसम्म पैदल मार्च गर्दै ४ दिनपछि रुपन्देहीस्थित सशस्त्र प्रहरी टोलीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रम छ।

गत पुस २० गते पूर्वको इलाम र सुदूरपश्चिमको गड्डाचौकीबाट एकसाथ सुरु गरिएको ‘पूर्व–पश्चिम झन्डा मार्च’ माघ ७ गते समापन हुनेछ।

सुझावित समाचार