सुमन सायमीको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा सायमीसहितका नेता तथा कार्यकर्ता नेकपामा समाहित भएका हुन् । उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतले स्वागत गरे । एकता सहमतिपत्रमा प्रचण्ड र नेपालसहित सायमीले हस्ताक्षर गरेका छन् ।
नेपालको विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक परिस्थितिले उत्पन्न गरेको गम्भीर जनजीविका संकट, संरचनागत अन्याय, गैरन्यायिक रूपमा लागू गरिएका सडक तथा खोला मापदण्डका कारण भएको व्यापक विस्थापन, सहकारी क्षेत्रमा व्याप्त संगठित भ्रष्टाचार तथा त्यसबाट पीडित आमनागरिकका मौलिक अधिकार हननप्रति चिन्तित र सचेत रहेको सहमतिमा उल्लेख छ ।
यस्तै, गैरन्यायिक सडक तथा खोला मापदण्डपीडित संघर्ष समिति, सहकारीपीडित संघर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिकार र पहिचानका पक्षमा उठेका जनआन्दोलनको मर्म, भावना र मागलाई आत्मसात् गर्दै, ती आन्दोलनसँग ऐक्यबद्धता र राजनीतिक एकतामार्फत समाधान खोज्ने समझदारी भएको छ । जनताको न्याय, अधिकार, स्वाधीनता, पहिचान र सामाजिक रूपान्तरणका साझा उद्देश्यलाई केन्द्रमा राखी, सडक, संसद् र सरकार तीनै तहबाट संयुक्त संघर्ष सञ्चालन गर्ने, पीडित वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्ने तथा लोकतान्त्रिक, समावेशी, समतामूलक र न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने ऐतिहासिक जिम्मेवारी स्वीकार गर्दै देशको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको रक्षा गर्दै पहिचानसहितको संघीय समाजवादी गणतन्त्रलाई संस्थागत गर्ने साझा संकल्प दुवै पक्षले गरेको छ ।
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न आवश्यकताअनुसार संविधान संशोधन गर्ने, राज्यका सबै अंगमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व अनिवार्य रूपमा कार्यान्वयन गर्ने, राष्ट्रिय हितअनुकूल रहेका नेपाल पक्षराष्ट्र भएका अन्तर्राष्ट्रिय महासन्धि तथा सम्झौतालाई नेपालको कानुनसरह कार्यान्वयनमा ल्याउने, स्वशासन, स्वायत्तता र नेपाली जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहने, नागरिकको जनजीविकाका समस्या समाधान गर्न सामुदायिक समाजवादी अर्थतन्त्रको सिद्धान्त अवलम्बन गर्ने, संवैधानिक तथा राज्यका निकायहरूमा नियुक्ति गर्दा विज्ञता, क्षमता, अनुभव र समावेशितालाई मुख्य आधार बनाउने सहमति भएको छ ।
