नेपाल टी–२० महिला विश्वकप ग्लोबल छनोटको ‘वार्मअप’ खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भएको छ।
बुधबार तल्लो मूलपानी मैदानमा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा चुक्यो। नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक विश्वकपमा स्थान बनाउने योजनासहित भारतीय प्रशिक्षक हर्षलजयन्त पाठकलाई अनुबन्ध गरेको थियो। उनी नियुक्त भए पनि वार्मअपको पहिलो खेलमै नेपाल चुकेको छ।
टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा कमजोर ब्याटिङ गरेको नेपाल १९ ओभरमै अलआउट हुँदा मात्र १०१ रन बनाएको हो। यसअघि मैत्रीपूर्ण खेलमा नेपालले अमेरिकालाई भने चार विकेटले पराजित गरेको थियो।
२०१ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुनै पनि खेलाडीले ठुलो साझेदारी गर्न सकेनन्। कविता जोशीले सर्वाधिक २८ रन बनाइन्। उनले २९ बलमा ६ चौका हिर्काएकी थिइन्। अर्की ओपनर विन्दु रावलले २५ रन बनाइन्। उनले २८ बलमा पाँच चौका प्रहार गरेकी हुन्।
यसअघि टस जितेको आयरल्यान्डले भने सुरुमा तीन अर्धशतकीय साझेदारी गर्दै ठुलो स्कोर बनाउन सफल भयो। सरा फोर्बस र गाबी लेबीले ५४ रन, ओर्ला प्रेन्डर्सगास्ट र लेविसले ५६ तथा ओर्ला र लेआ पाउलबिच सर्वाधिक ६४ रनको साझेदारी भएको थियो। ओपनर लेविसले ३८ बलमा सर्वाधिक ७७ रन बनाइन्। उनले १२ चौकार दुई छक्का हिर्काएकी थिइन्। ओर्लाले ३९ बलमा ६२ रन बनाइन्।
जनवरी १८ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। जसबाट शीर्ष चार टोलीले इंग्ल्यान्डमा हुने महिला ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछ। समूह ‘बी’मा नेपालसँगै थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन्।
नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुवात गर्नेछ।