सिन्धुलीमा मंगलबार साँझ बैंक लुटपाटमा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका छन्। स्थानीयको सहयोगमा लुटपाटमा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए।
लुटिएको तीन करोड १० लाख रुपैयाँमध्ये एक करोड ८० लाख १० हजार रुपैयाँ बरामद भएको छ। लुटेरा समूहले जंगलमा छाडेर भागेको अवस्थामा उक्त रकम बरामद भएको एसपी सुवेदीले बताए। सिन्धुलीको घ्याङलेक– २ मा रहेको नेपाल एसबिआई बैंकको शाखाबाट मंगलबार साँझ करिब सात बजेको समयमा डकैती भएको हो। डकैतीमा ६ जनाको समूह संलग्न रहेको बैंकका कर्मचारीले बताएका छन्।
सुरुमा उनीहरूले पेस्तोल देखाएर बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएका थिए। बैंकका सुरक्षागार्डसहितका कर्मचारी कार्यालय रहेकै छविलाल स्याङतानको घरमा बस्दै आएका थिए। एसपी सुवेदीका अनुसार उनीहरू पाँचजना थिए। पेस्तोल देखाएर नियन्त्रणमा लिएपछि सेफ खोल्न लगाएर बोरा र झोलामा पैसा लिएर उनीहरू भागेका थिए।
सो समूह मंगलबार बिहान करिब १० बजे बनेपाबाट बोलेरो गाडी रिजर्भ गरेर त्यहाँ पुगेको अनुसन्धानमा खुलेको छ। तर, पैसा लुटेपछि गाडीसम्म फर्कन सकेनन् । ‘केही तल खोल्चामा गाडी राखेर चालकलाई पनि त्यहीँ राखेको देखिन्छ,’ एसपी सुवेदी भन्छन्, ‘गाडीमा फर्कन नसकी जंगलतर्फ भागेको स्थानीयले बताएका छन् ।’ केटी भगाउन भनेर गाडी बुक गरिएको चालकले बताएका छन्।
घटनामा पेसेवर समूहको आशंका गरिएको छ। गाडीका चालकलाई पनि उनीहरूले बनेपाका एक माछा पसलका साहुको मोबाइलबाट फोन गरी बोलाएका थिए। बाटोभरि मास्क लगाएको चालकले बताएका छन्। लुटपाटको नेतृत्व अन्दाजी ५० वर्षीय व्यक्तिले गरेका थिए।