काठमाडौं जिल्ला प्रशासनको सेवाप्रवाहमा ‘पास’को अभ्यास : आधा घण्टामै नागरिकता, १० मिनेटमा राष्ट्रिय परिचयपत्र

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीलक्षित पब्लिक अनाउन्समेन्ट सिस्टम (पिएएस) कार्यान्वयनमा ल्याएको छ । १५ दिनअघिबाट कार्यान्वयनमा आएको ‘पास’ले कार्यालयबाट हुने सेवाप्रवाह चुस्त बनाएको कार्यालयको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार पास कार्यान्वयनमा आएपछि सेवाग्राहीले नागरिकता आधा घण्टाभित्रै बनाइसक्नेछन् भने राष्ट्रिय परिचयपत्र बनाउन १० मिनेट मात्रै लाग्नेछ । यस्तै, राहदानी पनि पहिलेभन्दा चाँडो बन्नेछ । ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको ‘पास’ मुलुकमै नौलो अभ्यास भएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए । उनले भने, ‘सेवाग्राहीलक्षित पास कार्यान्वयनमा आएको छ । यसले सेवाप्रवाहलाई चुस्त बनाएको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी बनाउन नागरिकले धेरै सास्ती खेप्दै आएका थिए । अब यो समस्या हल भएको छ ।’

जिल्ला प्रशासन कार्यालयका अनुसार कार्यालयबाट औसतमा दैनिक २५० वटा राष्ट्रिय परिचयपत्र तथा तीन सयवटा नागरिकता वितरण हुँदै आएको छ । यस्तै, दुई सय राहदानीको फाराम इन्ट्री, ५० संस्था दर्ता तथा नवीकरण, २५ विभिन्न प्रकृतिका ठाडो उजुरी लिने कामसमेत हुने गरेका छन् । यसबाहेक बनिसकेका राहदानी मात्रै दैनिक पाँच सयदेखि सात सयवटा वितरण हुने गर्छ । प्रजिअ पौडेलले भने, ‘जिल्ला प्रशासन कार्यालयमा दैनिक सात–आठ सयजना सेवाग्राहीले सेवा पाइरहेका छन् । विगतमा एउटै नागरिकता लिन दुई दिनसम्म लाग्थ्यो । अहिले आधा घण्टाभित्रै नागरिकता लिन सकिने अवस्था छ । सेवाप्रवाह चुस्त भएको सेवाग्राहीबाट ‘फिडब्याक’ आइरहेका छन् ।’ 

यसरी गर्छ ‘पास’ले काम
जिल्ला प्रशासन कार्यालयभित्र सेवाप्रवाह गर्न सबै गरी २० वटा डेक्स छन् । चारवटा लाउन्ज छन् । सबैमा अत्याधुनिक सिसिक्यामेरा जडान गरिएका छन् । जसले सेवाग्राही र कर्मचारीबिचको संवादसमेत रेकर्ड गर्न सक्छ । लाउन्ज र डेक्स भएका कोठामा स्पिकर र टेलिफोन पनि जडान गरिएका छन् । जसको कनेक्सन प्रजिअको कार्यकक्षमा राखिएको ७३ इन्चको एलइडी मनिटरसँग गरिएको छ । 

प्रजिअले सोही मनिटरमार्फत मातहतका सबै डेक्सबाट भइरहेका कामको निगरानी गर्न सक्छन् । सेवाप्रवाहमा कुनै विलम्ब वा समस्या देखिए प्रजिअले कार्यकक्षबाटै कर्मचारीलाई निर्देशन दिन सक्छन् । आवश्यक परे यस्तो निर्देशन कोठामा राखिएको स्पिकरमार्फत पनि ‘अनाउन्स’ गर्न सकिन्छ । नत्र टेलिफोनबाटै कर्मचारीलाई निर्देशन दिन सकिन्छ । 

प्रजिअले टोकन लिई लाउन्जमा पालो कुरी बसेका सेवाग्राही र कर्मचारीलाई पनि कार्यकक्षबाटै निगरानी र सम्बोधन गर्न सक्छन् । सेवामा कुनै समस्या आए सेवाग्राहीले टेलिफोनबाटै प्रजिअसँग प्रत्यक्ष संवाद गर्न सक्छन् । चमेनागृह र कार्यालय परिसरमा पनि सिसिक्यामेरा जडान गरिएका छन् । जसबाट कर्मचारीले चमेनागृहमा बिताउने समय, गर्ने संवादलगायत गतिविधि प्रजिअले कार्याकक्षबाटै निगरानी मात्र होइन, विश्लेषणसमेत गर्न सक्छन् । ढिलासुस्ती र शंकास्पद गतिविधिमा संलग्न देखिए प्रजिअले उनीहरूलाई पनि कार्यकक्षबाट आवश्यक निर्देशन दिन सक्छन् । 

प्रजिअ पौडेलले भने, ‘सेवाप्रवाहमा सूचना प्रविधिलाई ‘अप्टिमम’ प्रयोग गर्ने प्रयास हो । मातहतका सम्पूर्ण डेक्स सूचना प्रविधिमा जोडिएका छन् । कर्मचारी मात्र नभई सेवाग्राहीको समेत गतिविधि कार्यकक्षबाटै निगरानी गर्न सकिन्छ । आवश्यक निर्देशन पनि कार्यकक्षबाटै दिन सकिन्छ । सेवाग्राहीको गुनासो पनि यही प्रणालीबाट तत्काल सुन्न र सम्बोधन गर्न सकिन्छ । जसका लागि हामीले २५ भन्दा धेरै अत्याधुनिक सिसिक्यामेरा जडान गरेका छौँ ।’

सुझावित समाचार