कर्मचारीका असन्तुष्टि पछिल्लो समय प्रशासकीय अदालतमा प्रकट हुन थालेका छन् । यस अदालतमा अहिले प्रशासनिक प्रकृतिका २५९ मुद्दा विचाराधीन छन् । कर्मचारीका प्रशासनिक प्रकृतिका मुद्दा हेर्न विशिष्टीकृत अदालतका रूपमा स्थापित प्रशासकीय अदालत लामो समय निष्क्रिय थियो । अधिकार क्षेत्र विस्तारसँगै नयाँ पदाधिकारी आएपछि यो अदालत सक्रिय हुन थालेको हो ।
पछिल्लो समय प्रशासकीय अदालतमा मुद्दा र मुद्दाका फस्र्योट दुवैको मात्रा बढेको छ । मंगलबारसम्मको अद्यावधिक विवरणअनुसार अदालतमा २५९ मुद्दा चालू अवस्थामा छन् । यसमा बढुवा, सरुवा, विभागीय सजाय, कर्मचारीको उपदान, निवृत्तिभरण वा अवकाशसम्बन्धीका विषय, फुटकर निवेदन र कर्मचारीको सेवाका अन्य सर्त तथा सुविधासम्बन्धी विषय छन् । चालू आर्थिक वर्षको ६ महिनाभन्दा कम अवधिमै अदालतले ६२ वटा मुद्दा फस्र्योटसमेत गरिसकेको छ ।
प्रशासकीय अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले अधिकार क्षेत्र विस्तार भएपछि अदालतमा मुद्दाको चाप बढेको बताए । ‘स्थापनादेखि नै कहिल्यै पनि मुद्दा संख्या सयसम्म पनि नपुगेको अवस्था थियो,’ उनले भने, ‘अहिले मुद्दाको संख्या र फैसला दुवै बढेको छ ।’ निजामती सेवाका कर्मचारीलाई गरिने विभागीय सजायउपरको पुनरावेदन सुन्ने निकायका रूपमा ०४४ मा स्थापना भएको अदालतको अधिकार क्षेत्र विस्तार गरेपछि सक्रियता बढेको हो । प्रशासकीय अदालतलाई थप प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यले प्रशासकीय अदालत ऐन, २०७६ र प्रशासकीय अदालत ऐन, २०७७ जारी भएका थिए । तिनले विभागीय सजाय, कर्मचारीको बढुवा तथा सरुवाका मुद्दा वा विषयमा भएको निर्णय वा अन्तिम आदेशउपर पुनरावेदन सुन्ने गरी अदालतको क्षेत्राधिकार विस्तार गरेको थियो । गत १४ साउनमा उक्त ऐनमा संशोधन गरेर अधिकार क्षेत्रलाई अझै फराकिलो बनाइएको थियो ।
संशोधनमार्फत अदालतको क्षेत्राधिकार बढाएर प्रचलित कानुनबमोजिम कर्मचारीलाई दिइएको विभागीय सजाय, कर्मचारीको सरुवा, बढुवा वा स्तरवृद्धि, कर्मचारीको उपदान, निवृत्तिभरण वा अवकाश, कर्मचारी समायोजन, सेवाका अन्य सर्त वा सुविधासम्बन्धी विषयमा भएका निर्णय वा अन्तिम आदेशउपर पुनरावेदन सुन्ने अधिकार प्रदान गरिएको छ । रेग्मीका अनुसार पहिले वैकल्पिक बाटो नभएकाले रिट क्षेत्रमार्फत कर्मचारीहरू आफ्ना प्रशासनिक गुनासो लिएर अदालत जान्थे भने अहिले ती सबै प्रशासकीय अदालतमा आएका छन् । कार्यबोझ बढेबमोजिम अदालतमा विद्यमान जनशक्ति, स्रोत–साधन, बजेट, पूर्वाधार बढाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।
बढुवासम्बन्धी मात्रै ११५ मुद्दा
प्रशासकीय अदालतबाट प्राप्त विवरणअनुसार चालू अवस्थामा रहेकामध्ये धेरै मुद्दा बढुवा कारबाहीसँग सम्बन्धित छन् । बढुवासम्बन्धीका ११५ मुद्दा अदालतमा छन् । त्यस्तै, सरुवा कारबाहीका १० र विभागीय सजायका १० मुद्दा विचाराधीन छन् । यसरी विचाराधीन भएका कर्मचारीको उपदान, निवृत्तिभरण वा अवकाशसम्बन्धीका विषयका १२, फुटकर निवेदनबाट आएका २९ र कर्मचारीको सेवाका अन्य सर्त तथा सुविधासम्बन्धी विषय भएका ८३ मुद्दा छन् । मुद्दाको विवरण हेर्दा धेरै मुद्दा बढुवा निर्णय बदर, पदीय जिम्मेवारीविहीन बनाउने निर्णय बदर र सेवा–सुविधासम्बन्धीका छन् । केही मुद्दा ०८१ देखिकै भए पनि अधिकांश भने ऐन संशोधन (गत साउन)यताका छन् ।
मुद्दाको संख्या बढेको अनुपातमा फस्र्योट सुस्त छ । अदालतका अनुसार चालू आवको करिब ६ महिना हुन लाग्दा यो अवधिमा अदालतले ६२ वटा मुद्दा टुंगो लगाएको छ । ६२ मुद्दा फैसला भएको अदालतको भनाइ छ । त्यसमा बढुवा निर्णय बदरका ३३, सरुवा निर्णय बदर र सेवा अवधि जोडि पाउनेसम्बन्धीका १२–१२, विभागीय सजायका दुई तथा बेतलबी बिदा दिने निर्णय बदर, अन्तरकालीन आदेश कार्यान्वयन र अनिवार्य अवकाशको निर्णय बदरका एक–एक मुद्दा छन् ।
अधिकार क्षेत्रको विस्तारले बढाएको सक्रियता
प्रशासकीय अदालत ऐन, २०७६ को दफा ९ ले प्रशासकीय अदालतलाई सम्बन्धित निकाय वा अधिकारीले गरेको निर्णय वा अन्तिम आदेशलाई सदर, बदर वा आंशिक बदर गर्ने, सम्बन्धित निकाय वा अधिकारीले कुनै प्रमाण बुझ्न छुटाएको रहेछ भने सो प्रमाण बुझ्न वा मुद्दाको लगत कायमै राखी त्यस्तो प्रमाण बुझ्नका लागि मिसिल सम्बन्धित निकाय वा अधिकारीसमक्ष पठाउने र सम्बन्धित पक्षसँग केही कुरा बुझ्नुपर्ने देखिएमा सो पक्ष झिकाई बुझ्ने र सम्बन्धित कागजपत्र दाखिला गर्न लगाउने व्यवस्था गरेको छ । यसै ऐनले प्रचलित कानुनबमोजिम कर्मचारीलाई दिएको विभागीय सजाय, बढुवा र सरुवाका मुद्दा वा विषयमा निर्णय वा अन्तिम आदेशउपर पुनरावेदन सुन्ने अधिकार पनि प्रशासकीय अदालतलाई दिएको छ । ऐनले अदालतको अधिकार क्षेत्र थप गर्दै निजामती, स्वास्थ्य सेवा र संघीय संसद् सेवाका कर्मचारी, तीनै तहका कर्मचारी, सरकारको पूर्ण वा ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका संगठित संस्था, नियमनकारी निकायका कर्मचारी र सरकारले राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक संस्था तोकेको संस्थाका कर्मचारीका विभागीय सजाय, सरुवा र बढुवाका विषयमा पुनरावेदनको रोहमा मुद्दा हेर्न पाउने गरी क्षेत्राधिकारमा थप व्यवस्था गरेको थियो ।
गत साउनमा ऐन संशोधन गर्दै प्रचलित कानुनबमोजिम कर्मचारीलाई दिइएको विभागीय सजाय, कर्मचारीको सरुवा, बढुवा वा स्तरवृद्धि, कर्मचारीको उपदान, निवृत्तभरण वा अवकाश, कर्मचारीको समयोजन र कर्मचारीको सेवाका अन्य सर्त तथा सुविधासम्बन्धीका विषयमा भएका निर्णय वा अन्तिम आदेशउपर पुनरावलोकन सुन्ने अधिकार पनि यसै अदालतलाई दिएको छ ।
अधिकार क्षेत्र विस्तारपछि अदालतलमा अहिले मुद्दाका चाङ लागेको छ । विगतमा सीमित संख्यामा मुद्दा दायर र फस्र्योट हुने गरेकामा अहिले बढेर गएको छ । अदालतको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/७८ मा ४७ मुद्दाको लगत रहेकामा २१ थान फस्र्योट भएका थिए । त्यस्तै, ०७८/७९ मा ५६ मुद्दाको लगत भएकामा ३९ थान फस्र्योट र ०७९/८० मा ५९ मुद्दाको लगत रहेकामा २७ वटा फस्र्योट भएका थिए ।