८४ वर्षमा लालकुमारीले पाइन् नागरिकता

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

अथक प्रयत्नपछि ८४ वर्षीया वृद्धाले सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट नेपाली नागरिकता पाएकी छिन् । वयाेवृद्ध उमेरमा नागरिकता पाएकााले लालकुमारी श्रेष्ठको जीवनमा नयाँ खुसी ल्याएको छ । उनको जन्म  बाह्रबिसेको पलातीमा १९९८ मा भएको हाे । त्यतिवेला नेपाल राणा शासनको कठोर नियन्त्रणमा थियो।

नागरिकको अस्तित्व राज्यको कागजमा भन्दा शासकको कृपामा निर्भर हुन्थ्यो।  लालकुमारी श्रेष्ठकाे नाम राज्यका कुनै कागजमा कहिल्यै लेखिएन। उनले जीवनका सबै आरोह–अवरोह भोगिन्। शासन फेरियो, संविधान फेरियो, राजा गए, गणतन्त्र आयो। तर, लालकुमारी भने ८४ वर्षसम्म आफ्नै देशमा अनागरिक भएर बाँचिरहिन्। बुबा इन्द्रवीर श्रेष्ठले १५ महिना र  आमा रत्नकुमारी श्रेष्ठले ६ महिनामै लालकुमारीलाई छाेडेर याे संसारबाट बिदा भए । उनको हेरचाह गर्ने मानिससमेत काेही नहुँदा जन्मदर्ता गराउने कुरै भएन । त्यसै क्षणदेखि उनी राज्यका लागि अदृश्य भइन्। आफन्तको सहारामा हुर्किए पनि लालकुमारीले बाल्यकालमा विद्यालयको ढोका देखिनन्। अक्षर चिन्न पाइनन् । अरूकाे दयामा  बाँच्नु जीवनको आधार बन्याे ।

०१८ मा उनको विवाह साँगाचाेकका कृष्णबहादुर श्रेष्ठसँग भयाे  । विवाहले जीवनमा केही सहजता ल्याउँछ भन्ने आशा थियो । तर, त्यो पनि लामो समय टिकेन। ०३० सालमा श्रीमानको निधन भयो। छोराछोरीको भविष्यका लागि उनी काठमाडौं पुगिन्। घरघरमा काम गरिन्, इँटा बोकिन्, भारी उठाइन्। ज्याला मजदुरीकै भरमा उनले आफ्ना सन्तान हुर्काइन्। 

पछि फेरि उनी गाउँ फर्किइन्। अरूको खेतबारीमा पसिना बगाउँदै जीवन बित्यो। आज ८४ वर्षको उमेरमा पनि उनी काम नगरी एकछाक खान पाउन्नन् । बुढाे शरीरले सकिनसकी अरूकाे निमेक गरेर जीवन बिताउन विवश छिन् ।

लालकुमारीले जीवनमा कहिल्यै अस्पताल देखिनन्। सरकारी कार्यालय त झन् परको कुरा भयो। नागरिकता नहुँदा राज्यका कुनै सुविधा उनले पाइनन् । न स्वास्थ्य, न सामाजिक सुरक्षा, न सम्मान। नजानेरै बुढेसकाल गुजारिन् । जब बुझिन्, तब प्रक्रिया उनको उमेर र अवस्थाभन्दा निकै जटिल भइसकेको थियाे । ०८२ भदौ ३० गते उनले नागरिकताका लागि निवेदन दिइन्। तर, जवाफ आयो, उनको नाम राज्यका कुनै पनि अभिलेखमा छैन। अदालत जान सुझाव दिइयो।

८४ वर्षकी  वृद्धाका लागि अदालत, कानुन र प्रक्रिया कुनै सरल कुरा थिएन। तर, उनी हारिनन्। स्थानीय समाजसेवीको सहयोग, निरन्तर पहल र अधिवक्ता सुष्मा गिरीको कानुनी सहजताले यो विषय अगाडि बढ्यो। समाज, प्रहरी, अदालत र सम्बन्धित सरकारी निकायमा स्थानीय युवा गाेविन्द पाठकले समन्वय गरेका थिए ।

स्थानीय रामकुमार पाठक, नरेन्द्र केसी, दधिराम पराजुली, पुरुषोत्तम कार्की, सुकदेव तिमिल्सिना, अशोक पराजुलीलगायतले निरन्तर साथ दिए। वडाध्यक्ष शेखर भण्डारी, नीरबहादुर तामाङ, गृह मन्त्रालयका अधिकारीहरू र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सहकार्यपछि अन्ततः चौताराबाट नागरिकता जारी भयो।

२९ पुसमा लालकुमारीले नेपाली नागरिकता पाइन् । त्यतिवेला  उनका हात काँपिरहेका थिए। आँखा रसाएका थिए। ‘अब त म पनि यही देशकी भएँ,’ आँसु झार्दै भनिन्।

नेपालको संविधानले नागरिकताको अधिकार सुनिश्चित गरेको छ। तर, लालकुमारीको जीवनले भाेगेकाे कानुनी जटिलताले टुहुरा, गरिब, अशिक्षित, महिला र सीमान्तकृत समुदाय अझै सरकारी कागजात पाउन वञ्चित रहेकाे  पुष्टि हुन्छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले चाैतारा साँगाचाेकगढी नगरपालिका– १० मा बस्दै आएकी लालकुमारीले वंशजकाे नागरिकता प्राप्त गरेकाे बताए  । वडाको सिफारिस, प्रहरी रिपोर्ट,  समाजका सबै पक्षको सर्जमिनकाे आधारमा उहाँलाई नागरिकता प्रदान गरेकाे बताए। 

सुझावित समाचार