नेपाली कांग्रेसभित्र देखिएको विशेष महाधिवेशनसम्बन्धी विवाद समाधानको दिशामा अघि बढेको छ। संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबिच भएको पहिलो चरणको वार्ता सकारात्मक भएको नेताहरूले बताएका छन्।
लाजिम्पाटमा मंगलबार बिहान भएको छलफलमा तीन पक्षका आठजना नेताहरू सहभागी थिए। छलफलपछि नेता रमेश लेखकले विषयहरू पहिचान भएको र सहमतिका लागि आज दिउँसो साढे २ बजे पुनः बैठक बस्ने जानकारी दिए।
सहमहामन्त्री जीवन परियारले संवाद सौहार्दपूर्ण रहेको र सहमतिमा पुग्ने वातावरण बनेको बताए। पार्टी एकता कायम राख्ने विषयमा दुवै पक्ष लचिलो देखिएको नेताहरूको भनाइ छ।
स्रोतका अनुसार संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व लिन तयार भएको छ भने आज बस्ने केन्द्रीय समिति बैठकबाट यससम्बन्धी अघिल्लो निर्णय पुनरावलोकन हुने सम्भावना छ। कांग्रेसभित्र जारी विवाद समाधानतर्फ वार्ता निर्णायक मोडमा पुगेको छ।