१०औँ पोखरा स्पोर्टस् अवार्ड आगामी १८ वैशाखमा

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

१०औँ पोखरा स्पोर्टस् अवार्ड आगामी वर्षको १८ वैशाखमा हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सोमबार बसेको कार्यसमिति बैठकले अवार्डको मिति तय गरेको हो । मञ्चका अध्यक्ष एमबी आस्था मगरले अवार्डमा गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था, पत्रकार गरी विभिन्न सात विधामा अवार्ड हुने बताए ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ–संंस्था, वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड वितरण गरिने अध्यक्ष मगरले जानकारी दिए । अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेले चाँदीको करुवा पाउनेछन् । वर्ष खेलाडी पुरुष र महिलाले स्कुटर हात पार्नेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, प्रशिक्षक, पत्रकार र खेलकुद संघ–संस्था वा क्लबले ३५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रत्येक विधामा समान तीनजना मनोनयन गरिने छ । वर्ष खेलाडी पुरुष, महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा समान तीनजनालाई मनोनयन गरिने मञ्चका महासचिव परशुराम शर्माले बताए । यसै तीनजनाबाट एक उत्कृष्ट बन्नेछन् । प्रदेशका ११ जिल्लामा रहेका र गएको एक वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाटै छनोट हुनेछन् । अवार्डका लागि प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहनेछ ।

सुझावित समाचार