सजिलो छैन इरानमा प्रदर्शनबाट राजतन्त्र फर्काउन

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

इरानीहरू अहिले सडकमा उत्रिएका छन् । इरानका पदच्युत राजाका निवार्सित छोरा रेजा पह्लवीका समर्थक भने इरानको सडकमा निस्केको भिड पह्लवीकै आह्वानको प्रतिक्रिया भएको दाबी गर्दै छन् । उनीहरू यसलाई पह्लवीको नेतृत्वप्रतिको आमअनुमोदन भन्दै उनले जितिसकेकोमा जोड दिँदै छन् । यद्यपि, इरानमा अहिलेको इस्लामिक गणतन्त्रको विकल्प टुंगिसकेको विषय भने होइन । पह्लवीका सथर्मक र पश्चिमा टेलिभिजन च्यानलहरू पछिल्लो प्रदर्शनमा केहीले शाहको फिर्तीको माग गरेका प्लेकार्ड बोकेको र नारा लागेको तथ्यलाई जोड दिइरहेका छन् । तर, वास्तविकता भने त्यति सरल छैन ।

यसपटक सडकमा उत्रिएकाहरूले ४७ वर्षदेखि इरानमा शासन गरिरहेको खामेनीको धार्मिक शासनकै अन्त्यको माग गरेको सही हो । तर, प्रदर्शनकारीको मुख्य माग राजतन्त्रको फिर्ती भने छैन । उता, अन्तर्राष्ट्रिय रूपमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पह्लवीलाई समर्थन नगर्नुलाई महत्वपूर्ण रूपले हेर्नुपर्छ । पह्लवीले इरानीलाई सडकमा उत्रन आह्वान गरेपछि ट्रम्पलाई भेट्ने प्रयास गरेको तर भेट्ने समय नपाएको उनकै समूहले बताएको छ ।

जसरी ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोको उम्मेदवारीलाई समर्थन गर्न हतार गरेनन्, त्यसैगरी उनले पह्लवीबारे पनि उत्तिकै सतर्कता देखाएका छन् । यस संयमतामा सम्भवतः अमेरिका अर्को गृहयुद्धमा फस्न सक्ने डरले काम गरेको हुन सक्छ । इरानीहरू भ्रष्टाचार, दमन र मुद्रास्फीति अन्त्य हुनुपर्ने मागमा एक छन् । त्यसबाहेक स्पष्ट राजनीति मार्गदिशाको अभाव र आन्दोलनमा स्पष्ट नेतृत्व नदेखिँदा पह्लवीले अवसर छोप्ने प्रयास गरेका छन् । कम्तीमा राजावादी समूहमा उनको नामवरिपरि एक समूह पहिले गोलबन्द छ । तिनले दशकौँदेखि इरानमा राजतन्त्र फर्कनुपर्ने अभियान सानै स्तरमा भए पनि चलाउँदै आएका छन् । 

इरानमा प्रदर्शनकारीले लगाएको राजतन्त्रवादी नारा पह्लवी वंशप्रतिको प्रेमको घोषणा होइन, इस्लामिक गणतन्त्रप्रतिको घृणाको घोषणा हो

इरानलाई धर्मनिरपेक्ष भविष्यमा डोर्याउन सक्ने सक्षम मानिएका नर्गिस मोहम्मदी र मुस्तफा ताजजादेहजस्ता अनुहार वर्षौंदेखि जेलमै छन् । यसैले, एकजना इरानीले ‘इरान अहिले घोषणापत्रविहीन राजनीति युगमा बाँचिरहेको’ बताए । पछिल्लो आन्दोलनपछि सरकारको एक हिस्सामा डर फैलिएको छ । तर, देशका सर्वोच्च नेतालाई प्रभावित बनाएकोजस्तो देखिँदैन । ट्रम्पले पह्लवीसँग दूरी कामय गर्न देखाएको सावधानीपछाडि उनले इरानको सरकारभित्रकै एक समूहसँग सम्झौताको प्रयास गरिरहेको हुन सक्ने आशंकालाई बल दिएको छ । अमेरिका र इरानबिचको परम्परागत मध्यस्थकर्ता ओमानका अधिकारी यस सप्ताहन्तमा तेहरान पुग्दै छन् । यस भ्रमणका क्रममा त्यस दिशामा पहल हुन सक्छ । 

‘अहिले इरानमा पह्लवीको पक्षमा उठेका नारा खासमा राजतन्त्र फिर्तीको आह्वान होइन, यो त अहिलेको मृत अवस्थाबाट जसरी पनि उम्कन खोजिएको मात्र हो । जब समाजसँग अगाडि बढ्ने कुनै बाटो हुँदैन, तब समाज पछि हट्छ, जुन कुरा रुचिबाट नभएर बाध्यताबाट प्रेरित हुन्छ । यो एक थकित राजनीतिक पर्यावरणको हतास प्रतिक्रिया मात्र हो,’ एक इरानीले गार्जियनसँग भने । दशकौँ इरानी समाजलाई ‘पर्खन’ भनियो । र, उसले पर्खियो पनि । यसलाई सबै कुरा ठिक हुनेछ भनिएको थियो । तर, केही पनि ठिक भएन । इरानी समाजलाई स्थिति थप खराब हुन सक्दैन, हुनेजति खराब भइसकेको छ भनिएको थियो । तर, दिन–प्रतिदिन स्थिति खराब भयो । त्यसपछि समाजसँग कुनै विकल्प नरहेको बताइयो । ठ्याक्कै त्यही क्षणमा सडकले विकल्प सिर्जना गर्यो । 

अर्थात्, राजतन्त्रवादी नारा पह्लवीप्रतिको प्रेमको घोषणा नभएर इस्लामिक गणतन्त्रप्रतिको घृणाको घोषणा हो । सबैजना विगत वा अधुरा वाचामै अल्झिरहेका छन् । जब क्षितिजमा केही देखिँदैन, समाजले पछाडि फर्केर हेर्छ, किनभने अगाडि हेर्नलाई केही नदेखिएपछि विकल्प नै त्यही बाँकी रहन्छ । उता, इरानी लेखक संघले ‘बाह्य रूपमा लादिएका समाधान’प्रति सावधानी अपनाउन आह्वान गरेको छ । ‘स्वतन्त्रता आकाशबाट सिकारी शक्तिहरूले हान्ने बम र क्षेप्यास्त्रबाट आउँदैन । स्वदेशी र विदेशी शोषकबाट आफ्नो स्वतन्त्रता कायम राख्दै, यथास्थितिविरुद्ध उठेका सबैले न त काल्पनिक विगतको पुनरावृत्ति पर्खन्छन्, न त नक्कली सुधारकहरू ने पर्खिन्छन्,’ इरानी लेखक संघले एक विज्ञप्ति जारी गर्दै सावधान गर्न खोजेको छ । पह्लवीहरू लामो समयदेखि इरानका वामपन्थीको घृणाका पात्र रहँदै आएका छन् । इरानका सबैभन्दा प्रमुख मजदुर युनियन ‘सिन्डिकेट वर्कर्स अफ तेहरान’ र ‘सबअब्र्स बस कम्पनी’ले बुधबार एक विज्ञप्ति जारी गर्दै पुरानो र अधिनायकवादी शक्तिको पुनरोत्थानको विरोध गर्ने बताएको छ । 

तेहरान विश्वविद्यालयका राजनीतिशास्त्रका अवकाशप्राप्त प्राध्यापक अहमद नघिबजादेहले खासमा अहिलेको विवाद राजतन्त्र ल्याउनेभन्दा राज्यमा धर्मको भूमिकाको विषयमा भएको बताए । यसको समाधान प्राविधिकभन्दा पनि ऐतिहासिक हुने बताए । युरोन्युजसँगको कुराकानीमा उनले भने, ‘खासमा इरानमा अहिले जे भइरहेको छ, त्यो युरोपमा इतिहासमा देखिएकै धर्म र राज्यबिचको विभाजनको विवाद हो । यहाँ पनि युरोपमा जस्तै धर्म र राज्यबिचको द्वन्द्वमा राज्य विजयी हुन सक्छ ।’

लेखक गार्जियनका कूटनीतिक बिटका सम्पादक हुन् ।  गार्जियनबाट

सुझावित समाचार