समानुपातिक बन्दसूची हेरफेर : १७ दलका ८५ जनाले फिर्ता लिए उम्मेदवारी

पार्टी एकता वा विभाजनको समीकरण मिलाउन र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न उम्मेदवारको नाममा हेरफेर

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण
  •  कांग्रेस २, एमाले ५, नेकपा ३, रास्वपा १७, जसपा नेपाल २१, राप्रपा १२ र बाँकी दलबाट २५ ले लिए नाम फिर्ता
  •  २ माघसम्म दलले फिर्ता लिएको ठाउँमा नयाँ उम्मेदवारको नाम पेस गर्ने र ४ माघमा बन्दसूचीको प्रारम्भिक नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ वटा दलका तर्फबाट समानुपातिक बन्दसूचीमा समावेश ८५ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको भए पनि राति अबेरसम्म निवेदन पर्ने क्रम जारी छ । पार्टी एकता वा विभाजनको समीकरण मिलाउन र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न दलहरूले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको नाममा हेरफेर गरेका हुन् । 

एमालेका खस–आर्यतर्फ ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजातितर्फ विजयसिंह लामा र हिरूसरा राना, मधेशीतर्फ अंशु सिंहले नाम फिर्ताका लागि निवेदन दिएका छन् । कांग्रेसबाट खस–आर्यतर्फ ध्रुवबहादुर मल्ल र सिर्जना मल्लले नाम फिर्ताका लागि निवदेन दिएका छन् । नेकपाबाट मधेशीतर्फ अरबिन्द दास र कमलराय यादवको उम्मेदवारी फिर्ताको निवेदन परेको छ । नेकपाबाट रञ्जिता श्रेष्ठसहितको नाम संशोधित सूचीमा पारेको छ । पञ्चा सिंहको नाम फिर्ता लिएर नागरिक उन्मुक्तिबाट नेकपा प्रवेश गरेकी रञ्जिताको नाम समावेश गरिएको हो ।

यस्तै, रास्वपाबाट सुनीता न्हेमाफुकीले नाम फिर्ता लिन निवेदन दिएकी छिन् । विपिन आचार्य, कुलमान पक्षका रिमा विश्वकर्माबाहेक १७ जनाको नाम सम्बोधन गरेर पठाएको रास्वपा नेता गणेश पराजुलीले बताए । जसपा नेपालबाट २१ जना उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन् । लोसपाका उम्मेदवारको नाम समेट्ने गरी उनीहरूले नाम फिर्ता लिन निवेदन दिएका हुन् । 

राप्रपाबाट १२ जनाले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन् । राष्ट्रिय परिवर्तन पार्टीको उज्यालो पार्टीसहित ४९ जनाको संशोधित बन्दसूची पेस भएको छ । जसमा अनुपकुमार उपाध्याय, सीतादेवी पाण्डेय, देवकी पौडेल, दिनेशचन्द्र खनाल, सूर्यबहादुर खत्री, भुवनेश्वरी खरेल, महेन्द्र लावती, ज्योतिका राई, अजयकुमार चौधरी, बालिका चौधरी, चुनावकुमार बल, लक्ष्मी चुनारा, राजेश प्रतेल, तेजनारायण यादव, सनिलकुमार साह, डकेन्द्रसिंह लिम्बू, तुलासा वाइबा, माया डोल्मा लामा, अम्बिकाकुमारी मगरलगायतको नाम समेटिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निवेदन दिएका दलहरूलाई मंगलबार नाम फिर्ता लिएको जानकारी दिइनेछ । 

सुझावित समाचार