भारतका पूर्वकप्तान विराट कोहली आइतबार न्युजिल्यान्डविरुद्ध ३७ रन बनाएपछि समग्रमा धेरै अन्तर्राष्ट्रिय रन बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि सो स्थानमा श्रीलंकाका बायाँहाते खेलाडी कुमार सांगाकार थिए । उनले २८ हजार १६ रन बनाएका थिए । कोहलीले न्युजिल्यान्डविरुद्ध आवश्यक रन जोड्दै सांगाकारालाई पछि पारे ।
शीर्ष स्थानमा भारतका सचिन तेन्दुलकर छन् । उनले ३४ हजार ३५७ रन जोडेका छन् । टेस्ट, एकदिवसीय र टी–२० आई खेलमा बनेका समग्र रन जोडिएको हो । कोहली लगातार १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन् । उनले अहिलेसम्म तीनवटै फम्र्याटमा गरी ५५६ खेल खेलेका छन् । ६२३ मध्ये उनले ९१ इनिङ्स नटआउट खेले । कोहलीले करिअरमा ८४ शतक तथा १४६ अर्धशतकीय इनिङ्स खेलेका छन् । यसक्रममा उनी ४० पटक शून्य रनमा आउट भए ।
कोहलीले आफ्नो करिअरमा दुई हजार ७५२ चौका र ३१८ छक्का प्रहार गरेका छन् । शीर्ष स्थानमा रहेका सचिनले २२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटमा ६६४ खेल खेले । ७८२ इनिङ्स खेल्दा उनी ७४ पटक शून्यमा आउट भए । सचिनले सर्वाधिक ३४ हजार ३५७ रन जोडेका छन् । उनले कीर्तिमानी रूपमा सय अन्तर्राष्ट्रिय शतक बनाएका छन् । यसैगरी १६४ अर्धशतक बनाएका सचिनले चार हजार ७४ चौका तथा २६४ छक्का प्रहार गरे । सचिनले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
अस्ट्रेलियाका पोन्टिङ चौथो स्थानमा
श्रीलंकाका पूर्वकप्तान सांगाकाराले सन् २०१५ मा क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । उनले १५ वर्षको अन्तर्राष्ट्रिय करिअरमा ५९४ खेल खेल्दै २८ हजार १६ रन जोडेका थिए । यसक्रममा उनले ६३ शतक तथा १५३ अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले आफ्नो करिअरमा तीन हजार १५ चौका र १५९ छक्का प्रहार गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रन बनाउने सूचीको चौथो स्थानमा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ छन् । उनले १७ वर्ष अस्ट्रेलियन टोलीबाट खेल्दा ५६० खेलमा २७ हजार ४८३ रन जोडेका थिए । पोन्टिङले ६६८ इनिङ्समा ७१ शतक तथा १४६ अर्धशतक जोडेका थिए । यसैगरी श्रीलंकाकै पूर्वकप्तान महेला जयवद्र्धनले १८ वर्षको अन्तर्राष्ट्रिय करिअरमा २५ हजार ९५७ रन जोडेका थिए । उनले ६५२ खेलमा ५४ शतक तथा १३६ अर्धशतकीय इनिङ्स खेलेका थिए ।