बर्दियामा हस्तकला तालिम समापन

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालन भएको हस्तकला तालिम समापन गरिएको छ । गेरुवा गाउँपालिका– १, जनकनगरमा सञ्चालन भएको हस्तकला तालिम समापन  गरिएको हो ।

राष्ट्रिय पर्यटन बोर्ड  दिगो पर्यटन परियोजनाको लगानी र बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा हस्तकला निर्माण तालिम पुस ३ गतेबाट सञ्चालन भएको थियो । तालिममा सहभागीले काठबाट हात्ती, गैँडालगायत   हस्तकलाको सामग्री निर्माण गरेका छन् ।

तालिममा सहभागीले हस्तकलाको सामग्री निर्माण गर्दा रुचिपूर्वक सिकेको हुँदा छोटो समयमा राम्रोसँग हस्तकला सामग्री बनाउन सक्ने भएको प्रशिक्षक ताराबहादुर सुनारमा बताए । उनले भने, ‘तालिममा  सहभागी भएका प्रशिक्षार्थीले निरन्तर रूपमा काम  गर्न  आग्रह गर्छु । यो कामलाई निरन्तर रूपमा नगरेमा बिर्सिएर जाने भएकोले निरन्तर रूपमा काम गर्नुहोला ।’ 

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सरोजमणl पौडेलले काठबाट निर्माणका गरिएको हस्तकला हात्ती, गैँडा सामग्री बजारमा सहजै बिक्री–वितरण गरेर आयआर्जन गर्न सकिने बताए । उनले भने, ‘काठबाट निर्माण गरिएको हस्तकलाको सामग्रीलाई मायाको चिनो दिन सकिन्छ । हात्ती–गैँडालगायत सामग्री काठबाट बन्ने भएकोले हानिनोक्सानी हुँदैन भने हस्तकला बजार फराकिलो छ । त्यही भएर हस्तकला सामग्री निर्माणको कामलाई व्यावसायिक रूपमा गरी आयआर्जन गर्नुपर्छ ।’

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका  अध्यक्ष  हेमन्त आचार्यले मानव वन्यजन्तुको बिचमा हुने द्वन्द्व न्यूनीकरणका लागि  यस्ता सीपमूलक महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘निकुञ्ज घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटनलाई सहज रूपमा हात्ती र गैँडा बेच्न सकिन्छ । त्यसका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले समेत सहयोग गर्नेछ ।’

सुझावित समाचार