निकोलस मदुरो अहिले भेनेजुएलाका पूर्वराष्ट्रपति भएका छन्, जो अमेरिकी हिरासतमा कैद छन् । यद्यपि, अमेरिकी विशेष बलबाट भएको उनको बर्खास्ती ‘अन्त्यको सुरुवातभन्दा पनि सुरुवातको अन्त्य’को रूपमा बुझ्न सकिन्छ । निश्चित रूपमा भेनेजुएला वा अन्त कतै थोरैले मात्र मदुरोको बर्खास्तीमा शोक गर्लान् । उनी एक निरंकुश थिए, जसले सन् २०१८ र २०२४ को निर्वाचनमा धाँधली गरेर परिणाम आफ्नो पक्षमा पारे । उनको शासनमा जनतामाथि व्यापक दमन भएको थियो । देशमा विशाल तेल भण्डार हुँदाहुँदै पनि देशको अर्थतन्त्रलाई रसातलमा पुर्याए र लागुपदार्थको तस्करी गरे । तर, यसको मतलब अमेरिकाको सैन्य कारबाही आवश्यक र सही थियो भन्ने होइन ।
वास्तवमा, यो वैधानिकताको प्रश्न पनि थियो । यसको रणनीतिक मूल्य पनि शंकास्पद थियो, मदुरोले संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा निम्त्याउन सकेनन् । यो इच्छाले गरिएको सैन्य कारबाही थियो, आवश्यकताले होइन ।
यो अप्रेसन र सन् १९८९ मा राष्ट्रपति जर्ज एच डब्लु बुसले पानामाका शक्तिशाली राजनीतिज्ञ म्यानुएल नोरिएगालाई सत्ताबाट हटाउन सुरु गरेको अप्रेसनबिच केही सतही समानता छन् । तर, नोरिएगाविरुद्ध बलियो कानुनी मुद्दा थियो, जसमा लागुपदार्थ मात्र नभई एक अमेरिकी सैनिकको हत्या पनि समावेश थियो । साथै, पनामामा तैनाथ अन्य अमेरिकी सैन्य कर्मचारीलाई खतरा र पानामा नहरको सुरक्षाबारे जायज चिन्ता थिए । भेनेजुएलालाई लक्षित गर्ने छनोटले राष्ट्रपति डोनाल्ड ट्रम्पको मनसाय प्रकट गर्छ । सैन्य कारबाहीपछि आफ्नो पत्रकार सम्मेलनमा ट्रम्पले सुझाव दिएको मुख्य प्राथमिकता भनेको भेनेजुएलामा रहेको विश्वको सबैभन्दा ठुलो तेल भण्डारमा अमेरिकी पहुँच थियो । दोस्रो उद्देश्यमा लागुपदार्थको व्यापारमा भेनेजुएलाको संलग्नता अन्त्य गर्नु, देश छाडेर गएकाहरूलाई घर फर्कन मद्दत गर्नु र क्युबामाथिको दबाबलाई कडा पार्नु समावेश थियो । क्युबा आफ्नो संघर्षरत प्रतिबन्धित अर्थतन्त्रलाई बलियो बनाउन भेनेजुएलाबाट अनुदानमा प्राप्त तेलमा अत्यधिक धेरै निर्भर छ ।
तर, अमेरिकी अप्रेसन सफल भएको घोषणा गर्नु अति नै हतार हुनेछ । कुनै व्यक्तिलाई सत्ताबाट हटाउनु एउटा कुरा हो । कुनै शासनलाई हटाउनु र त्यसलाई अझ सौम्य र टिकाउ विषयले प्रतिस्थापन गर्नु अर्को फरक र अझ कठिन काम हो । अब भेनेजुएलाको सन्दर्भमा पूर्वविदेशमन्त्री कोलिन पावेलको ‘पोटरी बार्न नियम’ लागू हुन्छ, जसको अर्थ हो– अर्को देशको सत्ता ढालेर त्यहाँको स्वामित्व आफूले लिने । ट्रम्प प्रशासनले अहिले भेनेजुएलाको सत्ता ढालेको छ र अब त्यहाँको प्राकृतिक सम्पदाको स्वामित्वमा दाबी गर्नेछ ।
ट्रम्पले घोषणा गरेका छन् कि अमेरिकाले ‘भेनेजुएलामाथि शासन गर्नेछ ’। विवरणहरू दुर्लभ छन् र यसका लागि कब्जा गर्ने सेना चाहिन्छ कि चाहिँदैन भन्ने कुरा स्पष्ट छैन । एउटा कुरा स्पष्ट छ, कम्तीमा अहिलेका लागि ट्रम्प प्रशासनले विपक्षीलाई सशक्त बनाउनुको सट्टा विद्यमान शासनका अवशेषसँग काम गर्न रुचाउँछ, यसले मदुरोका उपराष्ट्रपतिसँग समझदारीमा पुगेको देखिन्छ, जो अहिले सरकारको नेतृत्व गरिरहेकी छिन् । यो लोकतन्त्रलाई प्रवद्र्धन गर्ने र मानव अधिकारको रक्षा गर्ने इच्छाले होइन, व्यावसायिक लाभको सम्भावनाबाट प्रेरित नीतिसँग मिल्दोजुल्दो छ । त्यसो त ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई पनि चेतावनी दिइसकेका छन् । अमेरिकी चेतावनीपछि वासिंटनसँग सहकार्य गर्न तयार रहेको रोड्रिगेजले बताएकी छिन् । दबाबबिच उनलाई अमेरिकाले कठपुतली बनाउनेमा कुनै शंका छैन ।
सबै सम्भावित समस्यालाई पन्छाउन सकिन्छ, तर मुख्य समस्या (क्रमबद्ध रूपमा विघटन) लाई स्पष्ट रूपमा स्वीकार गर्नुपर्छ । आगामी दिनमा मदुरो शासन समर्थकतत्वहरू सक्रिय हुनेछन् । विपक्षीहरू एकताबद्ध भएकाले प्रतिरोध गर्न सक्छन् । यस्ता अज्ञात कुराले अमेरिकाका लागि कठिन नीतिगत छनोट खडा गर्न सक्छ कि यदि तिनीहरू नियन्त्रणबाहिर गए भने यसले कठिनाइ निम्त्याउँछ ।
यो अप्रेसनले ट्रम्पको विदेश नीतिको सारलाई समेट्छ । यो यसको मूल नीतिमा एकतर्फी थियो । यसले वैधानिकता वा अन्तर्राष्ट्रिय रायलाई थोरै मात्र ध्यान दियो । यसले युरोप, इन्डो–प्यासिफिक वा मध्यपूर्वको सट्टा पश्चिमी गोलार्धलाई जोड दियो । लक्ष्य व्यावसायिक लाभ थियो, लागुपदार्थ र आप्रवासनसम्बन्धी चिन्ता प्रतिबिम्बित गर्दै अमेरिकी मातृभूमि सुरक्षालाई बलियो बनाउनु र अन्तत: तेल भण्डारमा असीमित पहुँच बढाउनु । सैन्य बल प्रयोग गरिएको थियो, तर सीमित तरिकाले ।
विश्वकै ठुलो तेल भण्डारण रहेको भेनेजुएलामा अमेरिका आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ । भेनेजुएला अप्रेसनको सबैभन्दा ठुलो नकारात्मक पक्ष यसले स्थापित गरेको उदाहरण हुन सक्छ, जसले ठुला शक्तिहरूको आफ्नो घरको आँगनमा अवैध वा खतरा ठान्ने नेताविरुद्ध हस्तक्षेप गर्ने अधिकारलाई पुष्टि गर्छ । युक्रेनलाई ‘नाजीकरणबाट मुक्ति’ र राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई हटाउन आह्वान गरिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सहमतिमा टाउको हल्लाएको कल्पना मात्र गर्न सकिन्छ । भेनेजुएलामा ट्रम्पको सैन्य अप्रेसनले रुस–युक्रेन युद्धको अन्त्यलाई पहिलेभन्दा अझ टाढा बनाउँछ ।
ताइबानलाई आफ्नो अभिन्न प्रान्त र त्यहाँको सरकारलाई अवैध मान्ने चीनमा पनि यस्तै प्रतिक्रिया आउने सम्भावना छ । यसको अर्थ राष्ट्रपति सी जिनपिङले अचानक ताइबानका लागि आफ्नो महत्वाकांक्षामा काम गर्नेछन् भन्ने होइन । तर, भेनेजुएलामा भएका घटनाले टापुमा आक्रमण, घेराबन्दी वा अन्यथा जबर्जस्ती गरेमा उनी सफल हुनेछन् भन्ने उनको आत्मविश्वास बढाउन सक्छ ।
मदुरोलाई हटाउने कारबाहीले स्पष्ट पार्छ कि हालै जारी गरिएको अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिलाई गम्भीरतापूर्वक लिनुपर्छ र ट्रम्प प्रशासनले पश्चिमी गोलार्धलाई अमेरिकी हितलाई प्राथमिकता दिने क्षेत्रको रूपमा हेर्छ । रुस र चीनले यसलाई ट्रम्पले प्रभावका क्षेत्रमा विभाजित संसारको आफ्नो दृष्टिकोण साझा गर्ने संकेतको रूपमा स्वागत गर्नेछन्, जहाँ युरोप र इन्डो–प्यासिफिकमा क्रमश: मस्को र बेइजिङका सरकारको हात छ । ८० वर्षदेखि टिकेको विश्वव्यापी व्यवस्था तीन क्षेत्रीय व्यवस्थाले प्रतिस्थापन गर्ने संघरमा छ, जुन व्यवस्थित वा स्वतन्त्रबाहेक अरू केही हुन सक्छ ।
– प्रोजेक्ट सिन्डिकेटबाट
विदेश सम्बन्ध परिषद्का अध्यक्ष हास सेन्टरभ्यु पार्टनर्सका वरिष्ठ सल्लाहकार र न्युयोर्क विश्वविद्यालयका प्राज्ञ हुन् ।