- भारतमा रेलले मात्र हात्ती मार्दैनन्, बरु सरकारी विभागले खडा गरेका संरचनाले तिनका ज्यान लिन्छन्
मिजोरमबाट दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेसले गत साता आसामको होजाई जिल्लामा हात्तीको बथानलाई जोतेको थियो । दुर्घटनामा पाँच छावासहित आठ जम्बोहरू मारिए । लगभग २५ हजार हात्तीको घर मानिने भारतमा रेलकै कारण प्रत्येक वर्ष एक दर्जनभन्दा बढी जम्बोहरूको ज्यान जाने गरेको छ । पछिल्लो घटना सोही त्रासदी अर्को शृंखला थियो । (२०१८–१९ र २०२३–२४ बिच मात्र रैलकै कारण ९२ हात्तीको मृत्यु भएको थियो । पछिल्लो घटनाले सम्पूर्ण देशको ध्यान आकर्षित गर्यो, किनभने एउटै विनाशकारी घटनामा आठवटा निर्दोष प्राणीले ज्यान गुमाउनुपरेको थियो ।
एक डिभिजनल वन अधिकारी (डिएफओ) लाई उद्धृत गर्दै प्रारम्भिक रिपोर्टले दुर्घटना (लगभग रातको २–२.३० बजे) बाक्लो कुहिरोका कारण भएको उल्लेख गरेका छन् । एक स्थानीय रेलवे प्रवक्तालाई उद्धृत गरिएका तिनै विवरणमा उल्लेख गरिएको छ कि ठक्कर तोकिएको हात्ती कोरिडोरबाहिर भएको थियो । जसको अर्थ हात्ती कोरिडरबाहिर रेलका लागि कुनै अनिवार्य सीमित गति तोकिएको छैन ।
रेल चालकहरू, सिग्नल इन्जिनियर, वनका गार्ड वा हुस्सुकुहिरोतर्फ औँला तेस्र्याइरहँदा एउटा ठुलो सत्यलाई भने बेवास्ता गरेको देखिन्छ, वास्तविक असफलता संस्थागत संरचनामा छ । रेलहरूले हात्तीलाई मार्दैनन्, बरु सरकारी विभागले खडा गरेका संरचनाले उनीहरूको ज्यान लिन्छ ।
यहाँ एउटा गतिलो उदाहरण छ– झारखण्डको हजारीबाग जिल्लाको जंगलको मध्यमा बारीकोला झोंझ गाउँ छ, जुन गाउँ दुईवटा हात्ती पास भएपछि लोकप्रिय भयो । यहाँ २०१५ मा हात्तीका लागि घाँसले ढाकिएको वन्यजन्तु ओभरब्रिज निर्माण गरिएको थियो । एक दशकपछि गाउँलेले भन्न थालेका छन् कि हात्तीहरूले लामो समयदेखि उक्त करिडोर छोडिसकेका छन् । ओभरब्रिजले अब एउटा विनम्र उद्देश्य पूरा गर्छन्– गाई, बाख्रा र भेडाहरूका लागि केबल चरन मार्ग । अगस्टमा इकोनोमिक्स टाइमको टोलीसँगै आएका एक रेलवे इन्जिनियरले सत्य स्वीकार गरे– हात्तीले नयाँ बिछ्याइएको रेलवे लाइन पार गर्न अन्य मार्ग रोजे ।
तैपनि, यस वर्षको सुरुमा रेलसेवाले दक्षिण झारखण्डमा मुख्यालय रहेको प्रमुख रेलवे हब चक्रधरपुर डिभिजनअन्तर्गत ओडिसामा ५५ किलोमिटर लामो खण्डमा २३४ करोड भारु लागतमा थप ११ वटा हात्ती पास मार्ग स्वीकृत गर्यो । जम्बोहरूलाई आकर्षित गर्न कटहर र केराका रुख लगाउनेदेखि नयाँ संरचनाले हात्तीको बथानलाई ‘आकर्षित’ गर्ने अधिकारीले दाबी गर्छन् ।
असम दुर्घटनापछि चक्रधरपुर रेलवे डिभिजनले हात्तीको आवागमन बढेको कारण देखाउँदै डिसेम्बरको अन्तिम साता केही दिन आठवटा रेल सञ्चालन रद्द गर्ने घोषणा गर्यो । सामान्यतया वन विभागले हात्तीको उपस्थितिलाई मनन गरेर एड्भाइजरी जारी गर्छ, जसका कारण रेलवेले अस्थायी गति प्रतिबन्ध लगाउन सक्छ । उदाहरणका लागि झारखण्ड–ओडिसा सीमामा रहेको हात्ती कोरिडोरहरूमा रातको समयमा रेललाई प्राय: ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा नचलाउन निर्देशन दिइन्छ ।
द्रुतमार्ग र रेलवे लाइनहरूको द्रुत विस्तारसँगै आगामी वर्षमा महŒवपूर्ण हात्ती करिडोरसहित वन्यजन्तुको वासस्थान अझ घट्ने अवस्थामा छ । निष्पक्ष भन्नुपर्दा भारत सरकारले छनोट गरिएका न्यूनीकरण उपाय अपनाउन थालेको छ– लेभल क्रसिङ, बार, ब्यारिकेड, अन्डरपास र ओभरपाससहित भूकम्पीय सेन्सरमा आधारित हात्ती घुसपैठ पत्ता लगाउने प्रणालीहरू ।
तैपनि, समस्याको मूल कारण अन्यत्रै छ । रेल सेवाको प्रभावकारिता अझै पनि गति र समयनिष्ठताले मापन गरिन्छ, कति हात्ती बचाइएका छन् भन्ने कुराले होइन । वातावरण मन्त्रालयका लागि सिफारिसको बढ्दो सूचीमा जोड दिइएको देखिन्छ । उदाहरणका लागि वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियासँग तयार पारिएको मार्च २०२५ को रिपोर्टले कोषको प्रश्नसँग जुध्न नदिई ७०५ नयाँ संरचना (जसमा ६५ अन्डरपास र २२ ओभरपास समावेश छन्) प्रस्ताव गरेको थियो । यसलाई अझ जटिल बनाउँदै जमिनमा निरन्तर समन्वयको कमी छ, जहाँ रेलवे, वन विभाग र स्थानीय प्रहरी प्राय: एकीकृत प्रतिक्रिया प्रणालीका रूपमा नभई संरचनामा काम गर्छन् ।
फेब्रुअरीमा जब आठवटा प्रविधि फर्मका प्रतिनिधि हात्ती पत्ता लगाउने प्रणाली प्रदर्शन गर्न चक्रधरपुरमा अवतरण गरे, रेलवे अधिकारीका लागि धेरै आधारभूत आवश्यकता थियो– परीक्षणका लागि दुईवटा हात्तीको उपलब्धता । जमसेदपुर र राँचीका चिडियाखानाबाट जम्बोहरू प्राप्त गर्ने असफल प्रयासपछि अधिकारीले छनोट प्रक्रियामा चार महिना ढिलाइ गर्नुपर्यो, जसले गर्दा विभागीय सुस्ततालाई फेरि एकपटक ऊर्जागर गर्योे । रेलवे ट्र्याकबाट २० मिटरसम्म हात्तीको चाल पत्ता लगाउन डिजाइन गरिएको यो प्रविधिलाई रेल–हात्तीको टक्कर कम गर्ने सम्भावित उपकरणका रूपमा व्यापक रूपमा हेरिन्छ । तैपनि, यसको प्रयोग रोकिएको छ र यसको प्रभावकारिता निर्णायक रूपमा स्थापित हुन अझै बाँकी छ ।
(शर्मा इकोनोमिक्स टाइम्सका वरिष्ठ सम्पादक हुन्)
(इकोनोमिक्स टाइमबाट)